अमेरिकी कामदार भिसामा कडाई गर्ने नयाँ नियम घोषणा, यस्ता छन् तीन मुख्य परिवर्तन
प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कामदार भिसा एचवान बीमा अझ कडाई गर्ने अन्तरिम अन्तिम नियमको घोषणा गरेको छ । यो नियम अन्तरिम अन्तिम नियम भएकाले फेडरल रजिस्टरमा प्रकाशित भएको मितिले ६० दिनमा सिधै कार्यान्वयन हुनेछ । कमेन्ट अवधि समेत राखिएको छैन ।
पहिलो, यो नियमले विशेष पेशाहरुको परिभाषालाई अझ साँगुरो बनाएको छ । कम्पनीहरुले विशेष पेशाको ब्यापक परिभाषाको दुरुपयोग गरेर प्रणालीको दुरुपयोग गरेको ठहर गर्दै उक्त परिभाषालाई साँगुरो बनाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
दोश्रो, नयाँ नियम अनुशार रोजगारदाताले वास्तविक कामदारहरुलाई वास्तविक कामको अफर गर्नुपर्नेछ । जसले अमेरिकी कामदारको विस्थापनमा रोकथाम हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भनाई छ । विगतमा यसो नगरी कम्पनीहरुले छिद्रहरुको प्रयोग गरेर प्रणालीको दुरुपयोग गरेको सरकारी ठहर छ ।
तेश्रो, एचवान बी कामदार भिसाको आवेदन अगाडि, आवेदनको दौरान र आवेदन स्वीकृत भइसकेपछि पनि कार्यस्थलको निरिक्षण र अनुगमन गर्न सरकारको क्षमता अझ बढाउने गरी नयाँ नियम ल्याउन लागिएको छ ।
नयाँ नियम अनुशार थर्डपार्टी कार्यस्थलमा लगाइएका कामदारहरुको भिसाको अवधि एकबर्षमा सिमित गरिनेछ । यो नियम लागु भइसकेपछि कामदार भिसाका मापदण्डहरु अझ कठिनहुने कानुनविदहरुले बताएका छन् ।
यसैबीच अमेरिकी सरकारको डिपार्टमेन्ट अफ लेवरले पनि कामदार भिसा एचवान बीका कामदारहरुलाई रोजगारदाताले दिनुपर्ने तलबको बढाउनुपर्ने नियम अगाडि सारेको छ । बढी तलब दिनुपर्ने भएपछि अमेरिकन कामदारहरु विस्थापित हुनबाट रोक लाग्ने ट्रम्प प्रशासनको विश्वास रहेको छ ।