बेलायतमा चर्चित नेपाली बौद्धिक व्यक्तित्व डा. चन्द्र लक्सम्बाको निधन, कोभिड संक्रमण भएकै बेला स्ट्रोक
प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार
बेलायतको नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ ।
बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार उनको निधन भएको उनका सहकर्मी डा कृष्ण अधिकारीले पुष्टि गरे ।
५९ वर्षीय डा, लक्सम्बालाई कोभिड संक्रमण भएकै बेला स्ट्रोक (मस्तिस्कघात) भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
पुख्र्यौली घर ताप्लेजुंग भएपनि नेपालमा उनको बसोबास धरानमा थियो । बेलायतमा फार्नबरोमा बस्दै आएका उनका श्रीमती र दुई छोरा छन् ।
पछिल्लो समय डा. लक्सम्बा नेपालस्थित ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा कार्यरत थिए ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका उनी स्टडिज फर नेपाल ‘सिएनएस’ यूकेका पूर्व अध्यक्ष थिए । बेलायतमा नेपालीको जनगणना गर्नमा उनको उल्लेख्य योगदान थियो ।
बेलायत तथा नेपालमा बौद्धिक छवि बनाएका उनी भूतपूर्व गोर्खा आन्दोलन एवम् एनआरएनए अभियानमा पनि योगदान गर्दै आएका थिए ।