बजारशास्त्र अध्यापनको ३० बर्षे अनुभव भएका क्यानडा निवासी डा. धरेल अब ‘चार्टड मार्केटर’
प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार
झण्डै तीसबर्षदेखि बजारशास्त्र बिषयमा नेपाल, मंगोलोलिया र क्यानाडामा अध्यापन गर्दै आउनुभएका नेपालीमूलका डा. तुल्सी धरेललाई क्यानाडाको एकमात्र मार्केटिङ संगठन क्यानेडियन मार्केटिङ एसोसिएसनले ‘चार्टड मार्केटर’को उपाधी प्रदान गरेको छ। यस अघि डा. धरेललाई उक्त संस्थाले काउन्सिल बोर्ड सदस्यमा पनि नियुक्त गरेको थियो ।
बजारशास्त्रमा लामो र विशिष्ट अनुभब भएको व्यक्तिलाईमात्र यो उपाधी प्रदान गरिन्छ । गत वर्ष डा. धरेललाई उक्त संस्थाले उत्कृस्ट बजार बार्षिक पुरस्कारमा निर्णायक मण्डलमा पनि राखेको थियो।
सन् २०१९ मा धरेलले क्यानडाको उत्कृष्ट आप्रवासी अवार्ड समेत प्राप्त गर्नुभएको थियो । विभिन्न देशबाट क्यानडामा पुगेर बसोबास गर्दै आएका आप्रवासीहरुमध्येबाट छनौट गरेर २५ जना अवार्ड प्रदान गरिएको थियो ।
नेपाली बौद्धिक व्यक्तित्व सोसल मार्केर्टिङमा विद्यावारिधी तुल्सी धरेल क्यानडाको सेन्टेनियल कलेजमा मार्केर्टिङ विषयका प्रोफेसर हुनुहुन्छ । झण्डै २ दशकदेखि क्यानडामा बस्दै आउनुभएका धरेल त्यहाँका चर्चित सामाजिक व्यक्तित्व समेत हुनुहुन्छ ।
उहाँले क्यानेडियन मल्टिकल्चरल काउन्सिलबाट आउडस्टाण्डिङ एसियन क्यानेडियन अवार्ड समेत प्राप्त गर्नुभएको थियो । त्यस्तै उहाँले लायन्स क्लब इन्टरनेशनल अमेरिकाबाट इन्टरनेशनल लिओ अफ त इयर अवार्ड प्राप्त गर्नुभएको थियो ।
टोरन्टोको जर्ज ब्राउन कलेज, वाटरलुको विलफ्रेड लाउरियर युनिभर्सिटी, मंगोलियाको मंगोलियन नेशनल युनिभर्सिटी र नेपालको त्रिभुवन युनिभर्सिटीमा प्राध्यापन गर्नुभएका धरेल कन्सर्न नेपाल क्यानडाका संस्थापक सदस्य समेत हुनुहुन्छ ।