भण्डारीले ल्याएको दशैं बिल मेरिल्याण्ड सिनेटमा पनि दर्ता, अब दुबै सदनमा एकसाथ अगाडि बढ्ने
प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार
मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी एचबी भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउनका लागि औपचारिक रुपमा दर्ता गराएको बिल माथिल्लो सदन सिनेटमा पनि दर्ता गराइएको छ । राष्ट्रपति क्लिन्टन प्रशासनमा अमेरिकी राजदूतको रूपमा काम गरेका सिनेटर जिम रोजापेपेले सिनेटमा पनि बिल दर्ता गराएका हुन् ।
अब यो बिल हाउसमा स्वास्थ्य र सरकार संचालन समिति सँगै सिनेटमा शिक्षा, स्वास्थ्य र वातावरण समितिमार्फत समानान्तर रुपमा अगाडि बढ्ने भएको छ । हाउसको स्वास्थ्य र सरकार संचालन समितिमा भण्डारीसमेत छन् ।
दुबै सदनमा समानान्तररुपमा बिल अगाडि बढ्दा कुनै एउटा सदनमा पारित भएको बिल अर्को सदनमा जाँदा उक्त सदनमा बिलबारे बुझाउन सहज हुने भण्डारीले जानकारी दिए । पारित भएमा दुबै बिल पारित हुने र नभएमा दुबै बिल असफल हुने सम्भावना रहने जनाइएको छ ।
प्रत्येक बर्ष अक्टोबर १४ लाई गभर्नरले दशैं स्मारक दिवसका रुपमा घोषणा गर्नुपर्ने प्रावधानका लागि उक्त बिल संसदमा दर्ता गराएको भण्डारीले जनाएका छन् ।
बिल दर्ता गराउँदै भण्डारीले ती हलहरुमा हिंडेका थोमस जेफर्सन र जर्ज वासिंटनहरुको याद आएको, लोकतन्त्र र विविधताको शक्ति सम्झेको तथा नेपाल र सगरमाथाको याद आएको बताए । दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले राज्यमा औपचारिक रुपमा मान्यता दिलाउनका लागि यो बिलका लागि पहल गरेको भण्डारीले बताए ।
बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछिमात्र बिल कार्यान्वयनमा आउनेछ ।
झण्डै एकदर्जन प्रकृया पूरा भएपछि बिल गभर्नर समक्ष जाने र गभर्नरले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आउनेछ । तर बिलमा दुईतिहाई बहुमतबाट पारित भएमा गभर्नरले हस्ताक्षर नगरेपनि बिल कार्यान्यनमा आउने प्रावधान छ ।
हिन्दु नेपालीहरुले मनाउने दशैं अमेरिकामा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । तर दशैंलाई सरकारी स्तरबाट मान्यता प्राप्त नभएका कारण धेरै अमेरिकनहरुलाई यो पर्वबारे जानकारी छैन । त्यसैले अमेरिकामा रहेका नेपालीहरु दशैंको टिका लगाएर बाहिर निस्कन भने हिचकिचाउँछन् ।
नयाँ पुस्ता दशैं मनाएर ढुक्कसँग बाहिर निस्कन लाज मान्ने अवस्था आएकाले अबका दिनमा यसरी लाज मान्ने होइन, आफ्नो संस्कृतिबारे गर्व गर्नसक्ने वातावरण बनाउन आफूले पहल गरिरहेको उनको भनाई छ ।
अहिलेसम्म भण्डारीले सदनमा ल्याएका ५ वटा बिल पारित भइसकेका छन् । भण्डारी अमेरिकी राजनीतिमा यो स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपाली अमेरिकन हुन् । राज्यको सांसद स्तरमा भण्डारीबाहेक अहिलेसम्म कुनै पनि अरु नेपाली अमेरिकनहरु पुगेका छैनन् ।
भण्डारीले आफ्नो पदको सपथग्रहण समेत बेदलाई साक्षी राखेर गरेका थिए । उनले आफ्नो कार्यालयमा नेपालको झण्डा र नक्सा समेत राखेका छन् । आफ्नो कार्यालयमा रहेको नेपालको नक्साले आफू कहाँबाट आएको हो भन्ने कुरा आफूलाई सधै स्मरण गराइरहने भण्डारी बताउँछन् ।
सन् २०१८ को निर्वाचनमा विजयी भएका भण्डारीले राज्य सांसदका रुपमा सन् २०१९ को जनवरीदेखि काम गरिरहेका छन् । नेपालको पर्वत जिल्लामा सरकारी स्कुलमा पढेका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन् ।