यो रेडियो जनगणतन्त्र नेपाल हो…


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

‘यो रेडियो नेपाल हो, अब प्रविण गिरीबाट समाचार सुन्नुहोस्…’

विहान ७ बजे हाम्रो घरको रेडियोमा समाचार सुन्न गाउँका कतिपय मान्छेहरु समेत आउने गर्थे । मैले जान्दादेखि नै हाम्रो घरमा एउटा पुरानो पानासोनिक रेडियो थियो । एकजनाले घरमै ल्याएर बेचेको भन्नुहुन्थ्यो बाले । कसले कतिमा बेचेको हो नाम याद भएन । तर पंचायतकालदेखि नै हाम्रो घरमा रेडियो थियो । सुरुमा राजाको समाचार आउँथ्यो ।

समाचार सुरु हुनु अगाडिको धुनमा समेत नाँच्थें म । गाउँमै शायद रेडियो हाम्रो घरमा मात्रै थियो त्यो बेला । विजुली थिएन, ब्याट्री किनेर चलाउनुपर्ने । ब्याट्री सकिएर नरम भएर सेतो लेदो बाहिर निस्कदासम्म पनि रेडियो चल्थ्यो । त्यसपछि केहीदिन ब्याट्री घाममा सुकाएर र थिचेरपनि चलाउनुहुन्थ्यो बाले । तीनवट्रा ब्याट्री लाग्ने उक्त रेडियोमा एकपटक ब्याट्री हालेपछि एकमहिना चल्थ्यो ।

मिडियम वेभ फ्रिक्वेन्सीमा चल्ने उक्त रेडियो कसरी चल्छ होला भन्नेबारेमा मेरो मनमा निकै जिज्ञासा थियो । यति सानो भाँडोमा कहाँ बसेर बोल्छन् होला ? बोल्ने मान्छेहरु कत्रा होलान् ? यस्तै कैयन जिज्ञासाहरु मेरो मनमा थिए । बाजा बजाउनेहरु कता तिर बस्छन् होला? गाउनेहरु कता बस्छन् होला? यस्तै जिज्ञासा मेट्न एकदिन बाआमा खेतमा गएको बेला दिउसो मौका पारेर रेडियोका पेचकसहरु खोलें । र भित्र हेरें । सानासाना रेडियोका उपकरणहरुमात्र देखिए । त्यसपछि हतार हतार ढक्कन लगाएर पेच बन्द गरिदिएँ ।

जिज्ञासा मनमै थियो । तर केही बर्षपछि काठमाडौंको सिंहदरबारबाट रेडियो प्रशारण हुन्छ । र, त्यसमा बोल्नेहरुपनि हामीजस्तै मान्छेहरु हुन् भन्ने कुरा थाहा पाएँ । बेलुका ५ बजे प्रशारण हुने बालकार्यक्रम नियमित सुन्थें । शनिबार बालनाटकहरु प्रशारण हुन्थे । उक्त नाटक सुन्न सम्भव भएसम्म म बेलुका ५ बजे बाहिर भएको भएतापनि घरमै आउँथें । बाआमासँग बाहिर गएको भएतापनि ५ बज्न लागेपछि घर जाऔं भनेर ढिपी गरेर भएपनि ५ बजे घरमा आएको सम्झना अझै ताजै छ । शायद बुधबार होला । साताको एक रातीचाँही पौने ९ बजे बीबीसी नेपाली सेवा सुन्ने कि हाँस्यव्यंग कार्यक्रम दिनप्रतिदिन सुन्ने भन्नेबारे खिचातानी नै हुन्थ्यो । बाले समाचारमा रुची राख्ने भएकाले बीबीसी सुन्न खोज्नुहुन्थ्यो । आमा र हामी अरु चाँही दिनप्रतिदिन सुन्न खोज्थ्यौं ।

पछि मलाई रेडियो सुनेरमात्र चित्त बुझेन । रेडियोमा आफ्नो नाम प्रशारण भएको सुन्ने इच्छा भयो । पोष्ट बक्स नम्बर ६३४ मा विभिन्न कार्यक्रमका लागि दर्जनौं पत्रहरु हुलाकबाट पठाएँ । कहिले साधारण टिकटमा त कहिले रजिस्ट्री गरेर । यस्तैमा एकदिन कुष्ठरोगीलाई माया गर्नुपर्छ भन्ने एउटा नाटक लेखेर रेडियो नेपालमा पठाएँ एउटा कार्यक्रममा । त्यतीबेला म १३ बर्षको थिएँ । कार्यक्रमका संचालक थिए मनोज गजुरेल ।

कार्यक्रममा उक्त नाटक प्रशारण भयो, मेरो नाम र ठेगानासहित । ८ कक्षामा पढ्थें । उक्त नाटक प्रशारण भइसकेपछि स्कुल जाने क्रममा धेरैले प्रशंसा गरे । मेरो त भूईंमा खुट्टै थिएन । निकै ठूलो मान्छे भएँ कि जस्तो पनि लाग्यो । एकदुईजनाले त नमस्कार गरेपनि हुने भनेजस्तो पनि लाग्यो । जे होस्, मलाई रेडियोप्रति र पत्रकारिताप्रति नै खास रुची जगाउने माइलस्टोन घटना थियो त्यो । जसको महत्वपूर्ण श्रेय कलाकार मनोज गजुरेललाई जान्छ ।

शायद, उनलाई त यो कुरा याद पनि छैन होला । भेटेर कुनै दिन भनौंला भनेको अहिलेसम्म फोनमा बाहेक भेटेरै गफगाफ गर्ने मौका पनि मिलेको छैन । १३ बर्षकै उमेरदेखि नै पत्रकारिताप्रति खास रुची भएको म अतिरिक्त लेखनको क्रमलाई विस्तारै निरन्तरता दिन थालें । स्कुलको बार्षिक स्मारिकामा आफ्नो सामाग्री प्रकाशित हुँदा पनि निकै खुशी लाग्थ्यो ।

रेडियोमा बोल्ने रुची भएपनि पहुँच भने थिएन । त्यसैले रुचीलाई मनभित्रै मारेर बस्नुपरेको थियो । अहिलेजस्तो छ्यापछ्याप्ती एफएमहरु पनि थिएनन् । भएका एफएमहरुको पहुचपनि गाउँसम्म थिएन । पछि पाल्पामा खुलेका केही एफएमहरु हाम्रो घरसम्म सुनिन लागे । तर लगत्तै २०५८ सालको संकटकालिन अवस्था लगायतका कारण एफएमहरुमा पहुँच कायम हुन सकेन ।

२०५८ सालमा मैले जनआव्हान लगायतका पत्रिकाहरुमा लेख्न थालिसकेको थिएँ । पत्रपत्रिकामा नाम छापिएको देख्दा पनि निकै खुशी लाग्थ्यो । तर त्यही नाम छपाउने रहर अलिक महँगो सावित भयो । संकटकालपछि सरकारी निशानामा परेका कारण घरै छाडेर हिड्नुपर्ने अवस्था आयो । तर पनि मैले पत्रकारितामा आफ्नो रहरलाई त्यागिन । जनयुद्धको बेलामा प्रतिबन्धित भएरै पनि पत्रकारितालाई निरन्तरता दिएँ ।

गुल्मीबाट जनादेश लगायतका संचारमाध्यममा मात्र होइन, बाहिरका एफएमहरुमा पनि माओवादीका समाचारहरु मैले नै फोन गरेर दिने गर्थें । खासगरी पाल्पाका एफएमहरुमा फोन गरेर समाचार टिपाउँथें । त्यतीबेला त्यहाँ सतिस चापागाई, जगदिश भट्टराई लगायतलाई समाचार टिपाएको केहीबेरमा नै समाचार एफएमबाट बज्न थाल्थ्यो । आफूले टिपाएको समाचार प्रशारण हुँदा रमाइलो लाग्थ्यो । त्यतीबेलाको यो पत्रकारिताका अरु धेरै रोचक प्रसंगहरु छन्, तर यहाँ रेडियोप्रति फोकस गर्दैछु ।

मेरो पत्रकारिताप्रतिको रुची देखेर नेता बामदेव क्षेत्रीले एकदिन केही राष्ट्रिय पत्रकारहरुको फोन नम्बर दिनुभयो । त्यही क्रममा मेरो मूल्यांकनका सम्पादक श्याम श्रेष्ठसँग सम्पर्क भयो । त्यतीबेला फोनहरु थिएनन् । लामो बाटो हिडेर फोन गर्नुपर्ने अवस्था थियो । श्याम श्रेष्ठसँगको सम्पर्क मेरो पत्रकारितामा अर्को माइलस्टोन भयो । मैले मुल्यांकनमा जनयुद्ध सम्बन्धित कभर स्टोरी नै लेख्न थालें । ती स्टोरीहरु कागजमा लेखेर कुनै माध्यमबाट तम्घास पठाएर फ्याक्स गरेर पठाउनुपर्ने अवस्था थियो ।

मूल्यांकनमा कभर स्टोरीहरु आएपछि र जनादेशमा लेख्न थालेपछि मलाई अन्य माओवादी नेताहरुले पनि चिन्न थाले । यसैक्रममा म रोल्पा पुगें, जहाँ माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता बाबुराम भट्टराईसँग पहिलोपटक भेट भयो । प्रचण्ड र ज्ञानेन्द्र एउटै हुन् भनेर हल्ला हुने र प्रचण्डको एउटा दुईटा बाहेक खासै फोटोहरु सार्वजनिक नभएको अवस्था थियो ।

त्यतीबेला प्रचण्डसँग भेट हुँदा मैले लेखेका दुईवटा कभर स्टोरी भएको मूल्यांकनका प्रतिहरु उहाँले देखाउनुभएको थियो । साथै आफूले मैले लेखेका रिपोर्टहरु नियमित बढ्ने गरेको बताउनुभएको थियो । हुनपनि त्यो बेला मूल्यांकन पत्रिका माओवादी बृत्तमा निकै लोकप्रिय थियो । यो भेटघाटको रोचक प्रसंग अन्य कुनै बेला विस्तारमा लेखौंला ।

प्रचण्डसँगको उक्त भेट लगत्तै म रेडियो जनगणतन्त्रमा काम गर्नका लागि गएँ । रेडियो थियो जलजलामा । माओवादी नेतृ पम्फा भुसालले मलाई रेडियोमा काम गर्ने रुची छ कि ? भनेर सोध्नुभएको थियो । मेरो बाल्यकालदेखि नै सपना पूरा हुने त्यो अवशर मैले किन छाड्थें । मैले त्यो अफर सहर्ष स्वीकार गरें । त्यसपछि दुईदिन हिडेर साथीहरुसँग रेडियोमा पुगें । त्यहाँ हिउँ पग्लीसकेको थिएन ।

उक्त रेडियोमा काम गर्दाका धेरै अनुभवहरु छन्, जुन अहिले समेट्न सम्भव छैन । तर पहिलो पटक रेडियोमा समाचार पढ्दा हातखुट्टा लगलग कापेको अझै सम्झना छ । साथीहरुलाई चाँही जाडो भएर कापेको भनेर जवाफ दिएको थिएँ त्यतीबेला ।

हात कापेपनि सकृय राजतन्त्र भएको त्यो बेलामा दह्रो आत्मविश्वासका साथ भनियो – ‘यो रेडियो जनगणतन्त्र नेपाल हो…’

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन सुरु भएपछि देशभरका रेडियोहरुले समाचार प्रशारण गर्न छाडे, त्यो अवस्थामा ग्रामिण क्षेत्रमा संचारको मुख्य माध्यम भएर काम गर्नुको मजा नै बेग्लै थियो । तर संघर्ष पनि कम थिएन ।

यो रेडियोमा २०६२ सालको अन्तिमसम्म काम गरें । त्यसपछि मुलुकमा जनआन्दोलनपछि जनुयुद्धपनि शान्ति प्रकृयामा गयो । रेडियोमा काम गर्ने रहर भने अझै मरेको थिएन । २०६३ सालमा पोखरामा राष्ट्रिय स्वभाभिमानमा सहसम्पादक भएर काम गर्दा र त्यसपछि बुटवलमा जनआव्हानमा सम्पादकीय नेतृत्व लिएर काम गर्दा पनि रेडियोमा काम गर्दाको हुटहुटी बाँकी थियो । रोचक त के छ भने जुन पत्रिकामा २०५८ सालमा लेख्न सुरुवात गर्दा सरकारी निशाना र प्रतिबन्धमा परियो, २०६३ सालमा त्यही पत्रिकाको सम्पादकीय नेतृत्व सम्हाल्ने जिम्मा आयो ।

त्यसै क्रममा पाल्पाको रेडियो पश्चिमाञ्चलमा सम्पादकको जिम्मा लिएर जाने अवशर मिल्यो । त्यतीबेला रोल्पा र रुकुममा काम गरेका सहकर्मीहरु अरुणा रायमाझी, राजेश थारु लगायतसँग पुन रेडियो पश्चिमाञ्चलमा काम गर्ने मौका मिल्यो । पुराना रेडियोका यादहरु ताजा बनाउँदै हामीले त्यहाँ समाचार पढ्न लाग्यौं । रोल्पाको तुलनामा पाल्पाको रेडियोमा समाचार पढ्दा केही फरक अनुभव भयो । सामाग्रीहरु आधुनिक थिए । पाल्पामा कम्प्युटरहरुको प्रयोग गर्न पाइन्थ्यो । र, रेडियो बढी स्वतन्त्र र व्यवशायिक थियो ।

पाल्पाको रेडियोमा काम गर्ने क्रममा काठमाडौंबाट टेलिभिजनमा काम गर्नका लागि सगरमाथा टेलिभिजनबाट ओम शर्मा र शुभशंकर कँडेलले फोन गरेर बोलाउनुभयो । हामी काठमाडौं पुग्दा सगरमाथा टेलिभिजन सुरुवात भइसकेको थिएन । त्यसैले केही समय फुर्सदिलो अवस्था भयो । तर त्यो बेलामा पनि गोरखापत्र, नवयुवा, नेपाल, कान्तिपुर लगायतका पत्रिकाहरुमा लेख रचनाहरु लेखेर समय बिताइयो । केही आम्दानी पनि भयो ।

काठमाडौं आइसकेपछि पनि रेडियोले पिछा छाडेन । ओम शर्मा, शुभशंकर कँडेल लगायतले एबीसी एफएम खोल्ने भएकाले त्यसको प्रशारणको जिम्मा मेरो काँधमा आइपुग्यो । टिम निर्माण गर्नेदेखि कार्यक्रमहरु बनाउनेसम्मको जिम्मा पाएपछि म पनि त्यो जिम्मा पूरा गर्न पछाडि हटिन । सगरमाथा टेलिभिजन सुरु भइसकेपछि पनि आधा सिफ्ट रेडियो र आधा सिफ्ट टेलिभिजनमा काम गर्न थालें । नयाँ बानेश्वरको थापागाउँबाट सचालित रेडियो प्राविधिक कारणले एबीसी, एनबीसीहुँदै विभिन्न नामहरु फेर्दै सुन्धारा आइपुग्यो । सुन्धारा आइसकेपछि विहान ५ बजेदेखि रेडियोमा र दिउसो २ बजेदेखि एबीसी टेलिभिजनमा काम गर्ने थालें । पछि रेडियोको नाम फेरेर राजधानी एफएमका रुपमा संचालन भयो भन्ने सुनियो ।

टेलिभिजनमा काम गर्दा रेडियोमा बोल्नुको मज्जा चाँही कम थिएन । पछि बढी समय टेलिभिजनतिरै दिनुपर्ने भएकाले रेडियोमा काम गर्न छाड्नुपर्यो । पछि रेडियोको धित नमर्दै सन् २०१० मा अमेरिका आइयो । यसरी झण्डै तीनवटा रेडियोमा काम गरेपनि अहिलेसम्म रेडियोप्रतिको मोह भने कायम नै छ । धित अझै मरेको छैन । कुनै बेला फेरी रेडियोमा जमेर बोल्ने इच्छा छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com