अमेरिकामा अध्यागमनबारे काम गर्ने वकिललाई कुन आवेदनका लागि कति शुल्क तिर्ने ?
प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार
यदि तपाईले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई धेरै रकम तिर्नुभयो भने उसले तपाईको केसमा भन्दा धेरै समय रकम गन्नमा नै लगाउन सक्छ । त्यसैले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई कति रकम तिर्ने भन्ने सन्दर्भमा तपाई सजग हुन जरुरी छ ।
एउटा रिपोर्ट अनुशार एसाइलमको मुद्दाको प्रतिनिधित्वका लागि वकिलहरुले ९ सय डलरदेखि १० हजार डलरसम्म लिने गरेका छन् । अदालतमा गएको केस र युएससीआइएसमा रहेको आवेदनको सन्दर्भमा शुल्कमा फरक पर्छ । कतिपय सन्दर्भमा वकिलले लिने शुल्क घण्टाको दरले हुनेगर्छ भने कतिपयले एकमुष्ठ रकम लिएर काम गर्छन् । घण्टाको दरले तपाईले तिर्नुपर्ने भएमा औषतमा एकघण्टाको १५० देखि ३ सय डलरसम्म तिर्नुपर्ने हुनसक्छ ।
सामान्यतया तपाईले युएससीआईएसमा फाइल गरेको एसाइलम केसका लागि वकिललाई एकहजारदेखि ३ हजार डलर तिर्नुपर्ने हुनसक्छ । त्यस्तै अदालतमा रहेको एसाइलम केसका लागि तपाईले २ हजार देखि १० हजारसम्म तिर्नुपर्ने हुनसक्छ । त्योभन्दा बढी रकम मागेको खण्डमा तपाईले विचार गर्नुपर्ने हुनसक्छ ।
तर धेरै रकम तिर्दैमा तपाईले राम्रो वकिल लिनुभएको छ भन्ने कुरामा विश्वस्त हुनसक्नुहुन्न । कतिपय वकिलहरु इमान्दार, मिहिनेती र चलाख हुन्छन् भने कतिपय अल्छी, अनुभवहिन र ठग हुन्छन् । एसाइलमको लागि धेरै रकम लिने वकिलहरु कतिपय सन्दर्भमा सहयोग गर्ने भन्दा बढी पैसा कमाउनेतिरमात्र धेरै ध्यान दिने हुन्छन् ।
राम्रो वकिलले तपाईको कथा सुनेर तपाईको केसको कमजोर र बलियो पक्षको मूल्यांकन गर्छ । राम्रो वकिलले तपाईलाई एसाइलमको प्रकृया, हुनसक्ने ढिलाई र सम्भावित परिणामबारे पनि सजग गराउँछ । त्यसैले कसैले मुद्दा जिताइदिने ग्यारेन्टी गर्छ भने त्यस्तो वकिल लिनुहुँदैन ।
शपतपत्र नै मुद्दाको मुटु हो । कानुनी रुपमा कुन कुरा उल्लेख गर्दा केस बलियो हुन्छ भन्ने आवेदकलाई थाहा नहुनसक्छ । यो अवस्थामा तपाईलाई सपथपत्र तयार पार्ने काममा वकिलले समय दिदैन भने त्यो वकिललाई राम्रो मान्न सकिन्न । राम्रो वकिलले तपाईलाई अन्तरवार्ताका लागि पनि तयार पार्छ । यदि तपाईले वकिललाई फोन गरेर सन्देश छाड्दा वकिलले कलब्याक गर्दैन भने त्यो वकिललाई राम्रो मान्न सकिन्न । राम्रो वकिलसँग त्यस्तो सुविधा हुन जरुरी छ ।
राम्रो वकिलले तपाईलाई आफ्नो मुद्दाबारे झुठो बोल्न वा झुठो विवरण बुझाउन उक्साउदैन । आवेदकले अमेरिकी सरकारसमक्ष झुठो बोल्दैछ भन्ने जानकारी दिंदादिदै पनि मुद्दा लिने वकिललाई राम्रो मान्न सकिन्न । त्यसो गर्ने वकिल खतरनाक र विश्वासहिन हुन्छन् ।
अमेरिकामा अध्यागमन वकिलको औषत शुल्क
आधा घण्टा सल्लाह: ७५ देखि १५० डलर
प्रतिघण्टा काम: १५० देखि ३०० डलर
सामान्य फर्म भर्न सहयोग: २५० देखि ८ सय डलरसम्म
ग्रिनकार्ड आवेदनमा सहयोग: ८ सय देखि ५ हजार डलरसम्म
वर्क परमिट आवेदन : २५० देखि ५ सय डलर
नागरिकता आवेदन: ५ सय देखि १२ सय डलर
परिवारमा आधारित ग्रिनकार्ड: ८ सय देखि १५ सय डलर
रोजगारमा आधारित ग्रिनकार्ड: १५ सय देखि ५ हजार
स्टाटस एड्जस्ट फाइल: ६ सय देखि १२ सय डलर
युएससीआईएस एसाइलम आवेदन: १ हजार देखि ३ हजार
अदालतमा एसाइलम वा देशनिकाला आवेदन: २ हजार देखि १० हजार
यो बाहेक तपाईले युएससीआईएसमा तिर्ने रकम वा सरकारी निकायमा बुझाउने शुल्क भने अतिरिक्त हुनेछ ।
औषतमा कुन आवेदनका सन्दर्भमा वकिललाई कति रकम तिर्दा उपयुक्त हुन्छ ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।