४० बर्षपछि भारतको जेलमा भेटिए इलामबाट हराएका नेपाली
प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार
इलामबाट ४० बर्ष अगाडि हराएका नेपाली दीपक जैसी तिम्सिना भारतको जेलमा भेटिएका छन् । बीबीसी नेपालीमा प्रकाशित रिपोर्ट अनुशार उनी २०३७ सालमा इलामको एक तप्पाबाट हराएका थिए ।
हराउँदा २० वर्षका युवक रहेका दीपक जैसी अहिले ६० बर्ष पुगिसकेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको उनको चार दशकसम्म सुनुवाइ हुन नसक्दा घर फर्कन नपाएको जनाइएको छ । मार्च १५ सोमवारको दिन अदालतमा पेशी तोकिएको र उनी निर्दोष प्रमाणित भएका नेपाल फर्कन पाउने बताइएको छ।
२०३७ सालमा उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडेपछि कहिले पनि घर फर्केर नआएको र परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरेका थिए ।
दीपक अहिले कोलकाताको दमदम कारागारमा छन् । रोजगारीको खोजीमा उनी भारतको दार्जिलिङ गएका र त्यहाँ बस्ने क्रममा प्रहरीले पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा लागेको जनाइएको छ ।