न्युयोर्कमा नेपाली चालक सापकोटामाथि आक्रमण गर्ने यात्रुको एकाउण्ट लिफ्टबाट खारेज
प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार
न्युयोर्कमा गत मंगलबार राती नेपाली लिफ्ट चालक आशिष सापकोटामाथि आक्रमण गर्ने यात्रुको एकाउण्ट लिफ्टले खारेज गरिदिएको छ । खसोखासलाई प्रतिकृया दिदै लिफ्टकी कम्युनिकेशन म्यानेजर आस्ले आदम्सले भनिन् – ‘हामीले उक्त यात्रुलाई लिफ्ट समुदायबाट हटाएका छौं । र हामी सहयोग प्रस्ताव गर्नका लागि चालकसँग सम्पर्कमा रहेका छौं ।’
चालक सापकोटाले लिफ्टले आफूलाई इमेल गरेको र समन्वयका लागि उदारता देखाएको पुष्टी गरेका छन् ।
घटनाबारे प्रहरी के भन्छ ?
सापकोटामाथि आक्रमणको घटनाबारे न्युयोर्क प्रहरीले प्रतिकृया दिएको छ । प्रवक्ता सर्जेन्ट जेसिका म्याकरोरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको खसोखासलाई जानकारी दिएकी छिन् ।
मंगलबार बेलुका ६ बजेर ४० मिनेटजाँदा न्युयोर्क प्रहरीको १०२ औं प्रिसिंक्टभित्र पर्ने क्वीन्सको भ्यानवीक एक्सप्रेसवे र हिलसाइड एभिन्युको दक्षिणपश्चिम कुनामा डकैती भएको रिपोर्ट फाइलमा रहेको उनले जानकारी दिइन् । ३० बर्षका चालकले आफूले गाडी चलाइरहेको बेला एकजना यात्रुले आफूलाई टाउकोको दाया भागमा दुईपटकसम्म मुक्काले हिर्काएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।
A Nepali Lyft driver Ashish Sapkota was assaulted by an unmasked rider in Queens, NYC : ‘There are no arrests and the investigation is ongoing’- NYPD pic.twitter.com/go53Ci2js2
— Kishor Panthi (@KishorPanthi) March 20, 2021
यात्रुले बलजफ्ती मोबाइल खोसेको बयान चालकले दिएको प्रहरी प्रवक्ताको भनाई छ । त्यसपछि संदिग्धले चालकलाई हाइवेको छेउसम्म गाडी चलाएर लगेमामात्र मोबाइल फिर्ता दिने बताएको तथा पीडित चालकले उसले भने अनुशार गरेपछि मोबाइल फिर्ता दिएको प्रहरीले जानकारी दिएको छ ।
सिनेटरदेखि ब्रुकलिन बोरो प्रेसिडेण्टबाट आक्रमणको निन्दा
यसैबीच सापकोटामाथि भएको आक्रमणको सिनेटरदेखि ब्रुकलिन बोरो प्रेसिडेण्टसम्मले निन्दा गरेका छन् । सापकोटामाथि न्युयोर्कको क्वीनमा एकजना पुरुष यात्रुबाट आक्रमण भएको थियो ।
न्युयोर्क राज्यको १२ औं सिनेट डिस्ट्रिक्टबाट राज्यको सिनेटमा प्रतिनिधित्व गर्ने माइक जानारिसले सापकोटामाथि आक्रमणको भिडियो ट्वीट गर्दै आप्रवासी र कामगर्ने बर्गहरुमाथि भइरहेको आक्रमणको श्रृंखला रोकिनुपर्ने बताएका छन् । उनले दोषीमाथि कारवाही हुनुपर्ने समेत माग गरेका छन् । सिनेटर माइक न्युयोर्क राज्यको सिनेटमा डेपुटी मेजोरिटी लिडर समेत हुन् ।
The recent uptick in violence directed at immigrant and working class communities needs to stop.
We must collectively step up and not just be allies to our neighbors, but accomplices in ensuring their safety.
Call people out on their shitty behavior and hold them accountable. https://t.co/76BzadWhfx
— Sen. Mike Gianaris (@SenGianaris) March 18, 2021
त्यस्तै न्युयोर्क ब्रुकलिन बोरो प्रेसिडेण्ट तथा मेयरका उम्मेदबार एरिक आडम्सले पनि सापकोटामाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले नेपाली लिफ्ट चालक आशिष सापकोटामाथि आक्रमणको भिडियोबाट आफूलाई गहिरो चिन्ता लागेको बताएका छन् । उनले घटनाको निन्दा गर्दै पूर्णरुपमा अनुसन्धानका लागि न्युयोर्क प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
I’m deeply disturbed by a video sent to me of an incident last Tuesday night where a Nepalese @Lyft driver, Ashish Sapkota, was physically attacked on the job in Queens. I condemn this assault and urge it to be fully investigated by @NYPDNews and @NYCTaxi. https://t.co/zzacUGOLJ0
— Eric Adams (@BKBoroHall) March 19, 2021
न्युयोर्कको एल्महस्र्ट निवासी सापकोटामाथि मास्क नलगाएका यात्रुबाट आक्रमण भएको थियो ।
दुईजना यात्रुलाई पिकअप गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा बेलुका ७ बजेर ३९ मिनेट जाँदा आफूमाथि आक्रमण भएको सापकोटाले जानकारी दिएका छन् । एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एकआपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि आफूले असुरक्षित महसुस गरेर गाडी रोकेको सापकोटाले बताए ।
A Nepali Lyft driver Ashish Sapkota is assaulted by an unmasked rider in Queens, NYC. pic.twitter.com/qPkuo9sJT3
— Khasokhas (@Khasokhas) March 17, 2021
आफूले उनीहरुलाई झगडा नगर्न अनुरोध गर्दै गन्तब्यमा पुर्याइदिने बताएपनि उनीहरु कुटपिट नै गर्न थालेपछि आफूले गाडी रोकेको सापकोटाको भनाई छ । त्यसपछि पुरुष यात्रुले फोन खोसेको तथा मुख र कानमा समेत हानेको सापकोटाले बताए ।
त्यसपछि नजिकैको लिक्वेर स्टोरनेर गाडी रोकेपछि उनीहरु गाडीबाट झरेका थिए भने सापकोटाले ९११ मा प्रहरीलाई फोन गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई जमैका अस्पताल लगिएको थियो । राती अस्पतालमै राखेर उपचार गरिएपछि उनलाई बुधबार विहान डिस्चार्ज गरिएको छ ।
आफ्नो कानमा असर गरेको र सुन्नमा समेत समस्या भइरहेको सापकोटाले जानकारी दिएका छन् । नेपालको बाग्लुङ स्थायी घर भएका सापकोटाले एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।
क्यालिफोर्नियामा नेपाली उबर चालकमाथि आक्रमण भएको घटना सेलाउन नपाउँदै यो घटना भएको हो । एसियनमाथि घृणा र हिंशाका घटना बढिरहँदा न्युयोर्कको क्वीन्समा नेपाली उबर चालक कुटिएका हुन् ।