कोरोना संक्रमणबाट दुईमहिनादेखि आईसीयुमा रहेका नेपालीको न्युयोर्कमा निधन


प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार

कोरोना संक्रमणबाट झण्डै दुईमहिनादेखि आईसीयुमा रहेका एकजना नेपालीको न्युयोर्कमा निधन भएको छ । सिन्धुपाल्चोकको हेलम्बु स्थायी घर भएका उनको आज निधन भएको जनाइएको छ ।

परिवारको सहमति प्राप्त भइनसकेकाले नाम र तस्वीर सार्वजनिक गरिएको छैन । सुरुमा कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएका उनलाई पछिल्लो चरणका कोरोना नेगेटिभ देखिएको तर कोरोना संक्रमणबाट उत्पन्न जटिलताका कारण निधन भएको जनाइएको छ ।

एल्महस्र्ट अस्पताल जहाँ अनिल लिम्बुदेखि बिष्णु राई सम्म कैयन नेपालीहरुले कोरोना संक्रमणबाट ज्यान गुमाए ।

निधन भएका व्यक्ति ६९ बर्षका पुरुष हुन् ।

न्युयोर्कमा रहेका केही नेपालीहरुले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनी ह्योल्मो समाज अमेरिकाका समेत आजिवन सदस्य रहेको जनाइएको छ ।

न्युयोर्कको नेपाली समुदायले कोरोना महामारीबाट गुमाएका केही व्यक्ति

 

अनिल लिम्बु 


न्युयोर्कको क्वीन्समा बस्दै आएका ५० बर्षका अनिल लिम्बुको कोरोनाको संक्रमणका कारण मृत्यु भयो । कोरोना संक्रमणबाट अमेरिकामा यो नेपालीको पहिलो मृत्यु हो । लिम्बुको एल्महस्र्ट अस्पतालमा निधन भएको हो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

निमा टेम्बा शेर्पा

न्युयोर्कको क्वीन्स निवासी निमा टेम्बा शेर्पाको कोरोना संक्रमणका कारण अप्रिलको पहिलो साता अस्पतालमा मृत्यु भयो । ४४ बर्षको शेर्पाको स्थानीय एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपालमा सोलुखुम्बु घर भएका शेर्पाका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

बिष्णु राई

न्युयोर्ककै एल्महस्र्ट अस्पतालमा मार्च २७ मा कोरोना सक्रमणका कारण ७२ बर्षका बिष्णु राईको निधन भयो । लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए । दुई दाजुभाई र एकबहिनीमा जेठा बिष्णुकुमार राई अविवाहित थिए ।

राजकुमार थापा

अप्रिलको दोश्रो साता न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४७ बर्षका राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भयो । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको सोही अस्पतालमा निधन भएको हो ।
उनलाई मार्च १४ बाट अस्पतालमा भर्ना गरिएकोमा अप्रिल ९ मा निधन भएको हो ।

पवनकुमार मल्ल

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको अप्रिलको दोश्रो साता कोरोना संक्रमणका कारण मृत्यु भयो । मल्लको न्यूयोर्क उडसाइडस्थित बस्दै आएको अपार्टमेन्टको कोठामा मृत्यु भएको हो । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

महेश अमात्य

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ६९ बर्षिय महेश अमात्यको अप्रिलको तेश्रो साता कोरोना संक्रमणका कारण जमैका अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । काठमाण्डौं स्थायी घर भएका अमात्यका श्रीमती र ३ छोरा छन् । अमात्य केही महिना पहिले मात्रै अमेरिका आएका थिए । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

सोनी डंगोल

न्युयोर्क निवासी नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको फेब्रअरी ३ मा निधन भयो । एकसाता उपचारपछि डंगोलको जमैकामा रहेको अस्पतालमा निधन भएको थियो । न्युयोर्कको जमैकामा पति विजय डंगोलसहित सपरिवार बस्दै आउनुभएकी डंगोलले न्युयोर्कको ब्रुकलिनमा आफ्नै शैलुन चलाउँदै आउनुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com