अमेरिकाको ओहायो जाने क्रममा हराएका रविन सुवेदी चढेको गाडी फेला तर सुवेदी अझै बेपत्ता


प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार

अमेरिकाको पेन्सिलभेनियाबाट ओहायो जाने क्रममा शुक्रबार रातीदेखि बेपत्ता भएका नेपालीभाषी २१ बर्षका युवा रविन सुवेदी चढेको गाडी प्रहरीले फेला पारेको छ । तर सुवेदी भने अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले गाडी शनिबार राती ८ बजे पेन्सिलभेनियाको इरीमा पार्क गरेको अवस्थामा फेला पारेको रविनका बुबा देवी सुवेदीले खसोखासलाई जानकारी दिए ।

पेन्सिलभेनियामा बुबाआमासँग बस्दै आएका रविन आफ्नी गर्लफ्रेण्डलाई भेट्न ओहायाको केन्ट जानका लागि हिडेका थिए । उनले शुक्रबार राती ७ बजेर ५१ मिनेटमा आस्ताबुलबाट आफ्नो साथीलाई सम्पर्क गरेको र आफू केहीबेरमा आउने बताएका थिए । उनले आफ्नो मोबाइलमा चार्ज सकिन लागेको र नजिकैको ग्यास स्टेशनमा चार्जर किन्ने बताएका थिए ।

प्रहरी अनुसन्धानबाट उनले चार्जर समेत किनेको भेटिएको छ । तर उनी राती ९ बजेसम्म पनि केन्टमा रहेकी गर्लफ्रेण्डकहाँ नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । रविनले ओहायोको आस्ताबुलबाट फोन गरेपनि फेरी पेन्सिलभेनियातिरै फर्केको र पेन्सिलभेनियाको इरीमा गाडी पार्क गरेको देखिएको छ । विहान ४ बजेसम्म उनको मोबाइल इरी क्षेत्रमा नै रहेको ट्रयाक भएको प्रहरीले बुबा देवी सुवेदीलाई जानकारी दिएको छ ।

गाडी पार्क गरेको स्थानमा सीसीटीभी समेत रहेको र प्रहरीले फुटेजहरु हेरेर अनुसन्धान गरिरहेको परिवारलाई जानकारी दिएको छ । ५ फिट ८ इन्च उचाई भएका रविन जे वाईसी ११५ नम्बरको गाडीमा चढेका थिए । तर गाडीबाट झरेर कता गए भन्नेबारे केही खुलेको छैन ।

रविन आफ्ना बुबाआमासँग सन् २००८ मा भद्रपुर झापाबाट भुटानी शरणार्थीका रुपमा अमेरिका आएका थिए । रविन आफ्ना एकजनामात्र छोरा रहेको र आफूसँग बस्दै आएको उनका बुबा देवी सुवेदीले जानकारी दिए । उनले आफ्ना छोराको खोजीका लागि सघाउन सबैलाई अपिल गरेका छन् ।

घटनाबारे पेन्सिलभेनियाको इरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै न्युयोर्कको बफेलो प्रहरीले पनि घटनाबारे अनुसन्धानका लागि समन्वय गरिरहेको जनाइएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com