अस्थायी गैर कृषि कामदारका लागि अमेरिकामा थप २२ हजार भिसा उपलब्ध


प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी गैर कृषि कामदारका लागि थप २२ हजार भिसा उपलब्ध गराएको छ । अमेरिकाको अर्थतन्त्र लयमा फर्कदै गर्दा श्रम बजारमा माग बढेको भन्दै एच टु बी भिसा संख्या अतिरिक्त २२ हजारले बढाइएको हो ।

अतिरिक्त भिसाहरु आगामी महिनाहरुमा फेडरल रजिष्टरमा अस्थायी अन्तिम नियम प्रकाशित गरेर उपलब्ध गराइने भएको छ । आप्रवासनको कारणलाई सम्बोधन गर्ने लगायतको कार्यकारी आदेश १४०१० को मर्म अनुशार ६ हजार भिसाहरु होण्डुरस, एल साल्भाडोर र ग्वाटेमालाका लागि उपलब्ध गराइने भएको छ ।

अस्थायी कामदार एच टु बी भिसामा कामदारलाई अमेरिका ल्याउनु अगाडि उक्त अस्थायी कामका लागि अमेरिकामा योग्य, इच्छुक वा उपलत्तध कामदार नभएको पुष्टी गर्न आवश्यक छ । त्यसपछि दिइएका आवेदनहरुमात्र अमेरिकी सरकारले स्वीकार गर्नेछ ।

यो कार्यक्रम अमेरिकामा रहेका रोजगारदाताहरुलाई अस्थायी कामदार ल्याउनका लागि डिजाइन गरिएको र भिसामा गरिएको थपले अमेरिका अमेरिकाका अवशरको कानूनी बाटोका लागि सरकार प्रतिबद्ध रहेको पुष्टी हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले बताएका छन् । यसबर्ष थपिएको संख्याले आगामी आर्थिक बर्षहरुमा अस्थायी कामदार भिसामा कुनै नकारात्मक असर नपर्ने जनाइएको छ ।

अमेरिकामा हरेक बर्ष ६६ हजार अस्थायी कामदार एच टु बी भिसा उपलब्ध हुदै आएका छन् । अक्टोबर १ देखि मार्च ३१ सम्म काम सुरु गर्ने ३३ हजार र त्यसपछि सेप्टेम्बर ३० सम्म काम सुरु गर्ने ३३ हजारका लागि भिसा उपलब्ध रहेको छ । चालु आर्थिक बर्षमा प्रयोग नभएका भिसा अर्को आर्थिक बर्षमा प्रयोग गर्न मिल्दैन ।

गत बर्षको फेब्रुअरी १२ सम्म युएससीआईएसले चालु आर्थिक बर्षका लागि अप्रिल १ देखि सेप्टेम्बर ३० सम्म उपलब्ध भिसाका लागि प्रयाप्त आवेदन प्राप्त गरिसकेको छ । ती मध्येबाटै अतिरिक्त भिसा उपलब्ध गराइने भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com