बिहिबार रातीदेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान स्थगित
प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार
बिहिबार रातीदेखि नेपालमा सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएको छ । विश्वभर फैलदै गएको कोरोनाको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा रोकथामका लागि भन्दै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरिएको हो ।
मे ६ को मध्यराती १२ बजेदेखि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिने छ भने मे १४ सम्म यो स्थगन जारी रहनेछ । अन्तर्राष्ट्रिय चार्टड र उद्दार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उडान अनुमति जारी गर्ने जनाइएको छ ।
एयर बबल सहमति अनुरुप नेपाल र भारतबीच भने सातामा दुईवटा उडानहरु हुने जनाइएको छ । जसमध्ये एउटा उडान नेपाल एयरलाइन्सको र अर्को उडान एयर इन्डियाको हुनेछ ।
ती उडानहरुमार्फत आउने यात्रुले सरकारले तोकेका होटेलमा आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्नेछ । एयरलाइन्सले कुनै यात्रु कोरोना पोजेटिभ भएको बोकेको पाइएमा विमानमा चढेका सबै यात्रुको क्वारेन्टीन खर्च एयरलाइन्सले नै बेहोर्नुपर्नेछ ।
नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मे ६ देखि १४ मेसम्म (वैशाख २३ देखि ३१ गते सम्म) नेपालमा सबै किसिमको अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गर्ने निर्णय भएको छ।
चार्टड र उद्दार उडानबाट आवतजावत गर्ने बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट समेत अनिवार्य गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
सरकारले नेपालमा सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गरिसकेको छ ।