अन्तत: बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा नेपाल पनि
प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार
अन्तत: बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा नेपाल पनि थपिएको छ ।
नेपालमा कोरोना संक्रमण तीव्र भईरहंदा बेलायतले आज शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेस गरेको बेलायती यातायातमन्त्री ग्रान्ट श्याप्सले जानकारी दिएका हुन् ।
यसअघि भारत, कतार र टर्की रेडलिष्टमा परेपछि नेपालसंगको हवाई सम्पर्क पनि विच्छेद जस्तै भएको छ ।
रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध रहनेछ । बेलायती नागरिक वा यहाँ स्थायी रुपमा बसोबास गर्नेहरुले भने कडा शर्तहरुसहित यात्रा गर्न छुट पाउनेछन् । ती यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।
त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।
लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सका सुनिल थापाले नेपालको अन्तरराष्ट्रिय उडान प्रतिवन्ध हटेपछि नेपालबाट बेलायत आउन निकै सकस र खर्चिलो हुने बताए ।
त्यस्तै, यसअघि रेड लिष्टमा रहेका विभिन्न १२ मुलुकलाई भने अब ग्रीन लिष्टमा सारिएको छ ।
अर्को सोमबारदेखि लागू हुने गरी पोर्चुगल, इजरायल, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्यान्ड, ब्रुनाइ, आइसल्यान्ड, जिब्रलटार, फकल्यान्ड आइल्यान्ड, फारोइ आइल्यान्ड, साउथ जर्जिया, साउथ स्यान्डविच आइल्यान्ड र सेन्ट हेलेनालाई ग्रीन लिष्टमा राखिएको छ ।
ग्रीन लिष्टमा पर्ने मुलुकबाट आउने यात्रुहरुलाई क्वारेन्टिन् बस्न पर्नेछैन् ।
आउँदो मे १७ तारिखबाट हाल जारी लकडाउन सहज गरिने र उक्त मितिबाट यात्रा प्रतिबन्ध सम्बन्धि नयाँ नियम लागू गरीने मन्त्री श्याप्सले बताए ।