एनआरएनएको अभियान र मध्यपूर्वका नेपालीको सहयोगमा ५६० अक्सिजन सिलिण्डर काठमाडौंमा
प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर काठमाण्डौं आइपुगेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ ।
गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढीरहेको सन्दर्भमा देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिएका छन् ।
यसै अभियानमार्फत संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको क्षेत्रीको भनाई छ ।
ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्टर तत्काल कोरोना संक्रमितहरु समक्ष पुर्याउन आइतवार नै नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ ।
प्रवक्ता क्षेत्रीबाट जारी वक्तब्यमा मध्यपूर्व देखि अक्सिजन सिलिन्टर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिई हाम्रो हौसला बढाएर सहकार्य गर्नुहुने राजदूत शर्मिला पराजुली ढकाल सहित गैरआवासीय नेपाली संघ ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहेका संघका केन्द्रिय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्था लगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति कृतज्ञता व्यक्त गरिएको छ ।