टेक्सासको युलेस सिटी काउन्सिलमा १३७५ मत ल्याएर नेपाली मूलका टिका पौडेल विजयी
प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार
टेक्सासको युलेस सिटी काउन्सिलमा नेपाली मूलका उम्मेदबार टिका पौडेल विजयी भएका छन् । युलेस सिटी काउन्सिलको प्लेस ६ बाट पौडेल विजयी भएका हुन् ।
उनले कुल खसेको मतको ५३ दशमलव ७१ प्रतिशत प्राप्त गरेका छन् । उनले कुल १३७५ मत ल्याएर जीत हासिल गरेका हुन् । अर्का उम्मेदबार एरिक अवेन्सले ४६ दशमलव २९ प्रतिशत अर्थात् ११८५ मत ल्याएका थिए ।
यसअगाडिको चुनावमा कसैले पनि ५० प्रतिशत अर्थात् स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि रनअफ चुनाव गर्नुपरेको थियो । युलेस नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र रहेको र युलेस सिटीमा झण्डै ६ सय मतदाताहरु रहेको त्यहाँबाट संचारकर्मी सूर्य थापाले जानकारी दिए ।
नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सास राज्य अन्तरगत यूलेसमा करिव ८ हजार नेपालीहरु छन् ।
नेपालको चितवन जिल्लामा जन्मिएका पौडेल करिव १५ बर्षदेखी अमेरिकामा छन् । नेपालमा प्राद्यापन पेशामा संलग्न थिए ।
सिटी काउन्सिलले स्थानिय सुरक्षा, पार्क, पूर्वाधार निमार्ण लगायतका नीतिहरु बनाउने काम गर्दछ । सिटी काउन्सिलमा मेयर लगायत ७ जना सदस्य हुन्छन् ।
युलेसमा पनि अधिकांश नेपालीहरुको बसोबास प्लेस ६ मा नै रहेको छ । पौडेललाई नेपाली अमेरिकनहरुको पनि राम्रो समर्थन रहेको थियो । अमेरिकाको मुलधारको राजनीतिमा नेपालीहरु अगाडि बढ्ने क्रम पछिल्लो समयमा तीब्र देखिएको बेला पौडेलको जीत भएको हो ।
ह्यारी भण्डारीले दिए वधाई
पौडेलले चुनाव जीतेपछि टेक्सास र अमेरिकाभर रहेका नेपालीहरुले बधाई दिइरहेका छन् ।
युलेस सिटी काउन्सिलमा चुनाव जित्न सफल भएकोमा अमेरिकाको राजनीतिमा इतिहास रच्न सफल मेरिल्याण्डमा नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीले पौडेललाई बधाई दिएका छन् । भण्डारी अमेरिकी राजनीतिमा सबैभन्दा उच्च तहमा निर्वाचित हुने नेपाली मूलका जनप्रतिनिधि हुन् ।
भण्डारीले भनेका छन् – ‘अमेरिकाको टेक्सास राज्यको युलेश सिटीको काउन्सिल ६ मा टीका पौडेलजीले निर्वाचनमा विजयी हुनुभएको खवर सुन्दा हामीलाई खुशी लागेको छ । उहाँको विजयले युलेसमा रहेका नेपालीको आवाजलाई स्थानीय निकाय सम्म पुर्याउनेछ ।’
‘हामीहरुले विगत देखि भन्दै आएका छौं की हरेक नेपाली अमेरिकनले यहाँको राजनीतिमा सहभागिता जनाउन पहल गर्नेपर्छ । यही भावनालाई समेटन सफलता प्राप्त भएकोमा र सहयोग गर्नु भएकोमा सम्पूर्ण युलेसवासी दिदीवहिनी तथा दाजुभाईहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’ – भण्डारीले भनेका छन् ।
यसै गरी संभव भए सम्मका स्थान र तहमा नेपाली अमेरिकनहरुको उपस्थिती जनाउनको लागि पहल गर्नु पर्ने भण्डारीको भनाई छ । उनी भन्छन् – ‘हाम्रो सहभागिताले हाम्रो आवाज र समस्याहरुलाई सरोकारवाला निकायहरु सम्म पुरयाउन सक्नेछौं ।’
मूलधारको राजनीतिमा अगाडि बढ्दै नेपाली
अमेरिकामा नेपाली अमेरिकनहरुको संख्या बढ्दै गर्दा विभिन्न चुनावहरुमा नेपालीहरुको सहभागिता र उम्मेदबारी दिने क्रम बढ्दो रहेको छ । अमेरिकाभर झण्डै ६० हजार नेपाली अमेरिकनहरु योग्य मतदाताका रुपमा रहेका छन् । जसमध्ये सबैभन्दा बाक्लो बसोबास न्युयोर्क, क्यालिफोर्निया र टेक्सासमा रहेको छ ।
मेरिल्यान्डको टाउन अफ इन्डियनमा नेपाली मूलका किरण सिटौला उपमेयर छन् । काठमाडौंको बूढानीलकण्ठ पढेका सिटौला उच्च शिक्षाका लागि २५ वर्षअघि अमेरिका आएका थिए ।
त्यस्तै नेपालको झापा जिल्लामा जन्मिएका प्रदीप ढकाल भर्जिनिया राज्यको टाउन अफ हर्डनमा काउन्सिल मेम्बर अर्थात नगरपदिषद् सदस्य छन् । सातजना काउन्सिलमेम्बर विजयी हुनुपर्ने चुनावमा ढकाल ३ हजार ८८ मत ल्याएर चुनिएका थिए । उनी सन् २००६ मा अध्ययनका लागि अमेरिका आएका थिए ।
त्यस्तै नेपाली भाषी भुटानी मुलका भुवन प्याकुरेल ओहायाको रेन्डोल्डसबर्गमा सिटी काउन्सिल सदस्यमा छन् । सन् २००९ मा अमेरिका आएका उनी सन् २०१४ मा परिवारसहित ओहायो बसाईसराई गरेका थिए । सन् २०१५ मा अमेरिकी नागरिकता लिएका उनले रिपब्लिकन पार्टीका उम्मेदबारलाई पराजित गरेर सिटी काउन्सिल सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै कनेक्टिकटको ब्रानफोर्डमा रामचन्द्र श्रेष्ठ टाउन मिटिङ प्रतिनिधि रहेका छन् । डेमोक्रेटिक पार्टीका उनलाई पब्लिक सर्भिस कमिटिको आरटीएममा सन् २०२१ को नोभेम्बर १६ सम्मका लागि नियुक्त गरिएको हो । जसका चेयर डोन कोनक्लीन रहेका छन् ।
छत्रकुमारी गुरुङ न्यू ह्यामसरमा हुक्सेट टाउनको बजेट कमिटी सदस्य छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् ।
यसैगरी अर्घाखाँचीका मधु पन्थी भर्जिनिया राज्यको टाउन अफ हेमार्केटका काउन्सिल म्यान भएका थिए । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पन्थी नेपालमा पनि राजनीतिमा सक्रिय थिए ।
नेपालीहरु मुलधारको राजनीतिमा समाहित र अमेरिकन समुदायसँग एकीकरण हुने क्रम तीब्र बनिरँदा राजनीतिक प्रतिस्पर्धाका आधारमा निर्वाचित भएकाहरु भने ह्यारी भण्डारी र भुवन प्याकुरेलमात्र हुन् ।
न्युयोर्कमा पनि राजनीतिक प्रतिस्पर्धाका आधारमा सिटी काउन्सिल सदस्यमा नेपाली मूलका उम्मेदबार नवराज केसी चुनावी मैदानमा रहेका छन् । डिस्ट्रिक्ट १९ बाट उम्मेदबारी दिएका केसीले आगामी जुन २२ मा हुने प्राइमरीमा चुनाव जीतेमा मात्र नोभेम्बरमा हुने अन्तिम चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
(नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।)