नेपालमा आन्तरिक उडान आजदेखि खुला, उडान अगाडि सीसीएमसी फारम भर्नुपर्ने


प्रकाशित मिति : असार १७, २०७८ बिहीबार

नेपालमा कोरोना महामारीका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू आजदेखि खुला गरिएको छ। आधामात्र यात्रु राख्न पाउनेगरी आन्तरिक उडान खोलिएको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै यात्रुहरूले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले व्यवस्था गरेको उडानसम्बन्धी फारम समेत अनिवार्य भर्नुपर्नेछ । अनलाइनमार्फत यस्तो फारम भर्न नसक्नेहरूलाई विमानस्थलमै कोड दिइने छ ।

उडान सङ्ख्या भने नियमितको तुलनामा कटौती गरिएको छ । सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत कम उडान हुनेछन् । दैनिक ६७ वटासम्म आन्तरिक उडान हुने जनाइएको छ ।

त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले सरकारको आदेशअनुसार हिजै चारवटा वायुसेवाको उडान तालिका स्वीकृत गरिसकेको छ । असार १७ देखि साउन १६ सम्मका लागि दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरिएको हो । उडान बिहान साढे ६ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछन् ।

बुद्ध एअरलाई दैनिक ३१ वटा, यतीलाई १५, श्रीलाई १० र सौर्यलाई तीन वटा उडान अनुमति दिइएको छ ।

काठमाडौंबाट दैनिक विराटनगर १०, भैरहवा ९, नेपालगन्ज र भद्रपुर ७/७, जनकपुर र सिमरा ६/६, पोखरा ५ र धनगढी ४ वटा उडान हुनेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुरलगायत दुर्गम क्षेत्रमा दैनिक ८ वटा उडान हुनेछन् ।

उडानका क्रममा यात्रुहरुले मास्क लगाउने, दूरी कायम गर्नुपर्ने, जहाजमा बस्दा फेसशील्ड लगाउनुपर्ने, टर्मिनलमा भिडभाड गर्न नहुने र उडानबीच केही दुरी कायम गरिनुपर्ने जस्ता मापदण्डहरू तय गरिएको छ । यात्रुहरुको तापक्रम पनि मापन गरिनेछ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com