जापानले नेपाललाई १६ लाख डोज खोप दिदै, कोभिशिल्डको दोश्रो डोज नपाएकालाई दिइने


प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

जापानले नेपाललाई १६ लाख डोज आस्ट्राजेनेका खोप कोभ्याक्समार्फत् उपलब्ध गराउने भएको छ। जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले नेपाललाई झण्डै १६ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उक्त खोप नेपालमा पहिलो डोज कोभिशिल्ड लगाएका तर दोश्रो डोज नपाएकाहरुलाई दिइने जनाइएको छ । नेपालमा लगाइएको र भारतबाट ल्याइएको कोभिशिल्ड खोप पनि अक्सफोर्ड आष्ट्राजेनेकाले नै विकाश गरेको हो । भारतमा उत्पादन गरिएकाले नाममात्र फरक हो ।

जापानले प्रदान गर्ने खोज जुलाईबाट नै आउन सुरु गर्ने अपेक्षा गरिएको छ । नेपालमा मार्चको ७ देखि १५ भित्र कोभिशिल्डको पहिलो डोज लगाएका झण्डै १४ लाखले दोश्रो डोज लगाउन पाएका छैनन् । उनीहरुमध्ये कतिपयले पहिलो डोज लगाएको ४ महिना पुगिसकेको छ भने कतिपयले पहिलो डोज लगाएको ४ महिना पुग्दैछ ।

१६ हप्तासम्मको फरकमा लगाउँदा पनि प्रभावकारी

नेपालमा वितरण गरिएको कोभिशिल्ड भ्याक्सिन बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका भ्याक्सिनको भारतीय उत्पादन हो । यो भ्याक्सिन पहिलो डोज लगाएको ४ देखि ६ हप्ताभित्र दोश्रो डोज लगाउन सिफारिस गरिएको थियो । तर अहिले यो भ्याक्सिन १६ हप्तासम्मको फरकमा दोश्रो डोज लगाउँदा समेत प्रभावकारी पाइएको छ ।

दोश्रो डोज लगाउन ढिलो हुँदैमा त्यसले पहिलो डोजको प्रभावकारिता कम नहुने विज्ञहरुले बताएका छन् । पहिलो डोज लगाएका तर दोश्रो डोज लगाएकाहरुलाई चिन्तित नहुन खोप विशेषज्ञ डाक्टर एनके अरोराले सुझाप दिएका छन् । भ्याक्सिन नै नलगाएकाहरुको तुलनामा एकडोज भ्याक्सिन लगाएकाहरुलाई कोरोनाबिरुद्ध उल्लेख्य संरक्षण प्राप्त हुने पुष्टी भएको छ ।

पहिलो डोज भ्याक्सिनले पहिले नै इम्युन रेस्पोन्समा ट्रिगर गर्ने भएकाले दोश्रो डोज लगाउन ढिलो हुँदैमा उक्त इम्युन रेस्पोन्स नहराउने इम्युनोलोजिष्ट डाक्टर डाक्टर विनिता बालले बताइन् । तर एकडोज लगाउँदैमा यसबाट प्राप्त हुने पूर्ण संरक्षण प्राप्त नहुने भएको पूरै डोज आवश्यक हुने उनले बताइन् । दोश्रो डोज भ्याक्सिनले पहिलो डोजबाट निर्मित इम्युनको परिणाम र गुणस्तरमा बृद्धि गर्ने उनले बताइन् ।

पहिलो डोज भ्याक्सिनले बनाएको इम्युन रेस्पोन्स ४ देखि ५ महिनापछि नष्टहुँदै जानसक्ने विज्ञहरुको भनाई छ । कोभिशिल्ड भ्याक्सिनको दुईडोजबीचको अन्तर अन्तर्राष्ट्रिय परीक्षणको तथ्यांक अनुशार ४ हप्ताबाट १२ हप्तासम्म बनाइएको हो । परीक्षणका क्रममा दोश्रो डोज १२ हप्तापछि दिंदा पनि भ्याक्सिनको प्रभावकारिता उल्लेख्य देखिएको थियो ।

बेलायतमा कोभिशिल्ड भ्याक्सिन पहिलो डोज लगाएको १२ हप्तापछि दोश्रो डोज लगाउन सिफारिस गरिएको छ भने क्यानडाका कतिपय स्थानमा पहिलो डोज लगाएको १६ हप्तापछि दोश्रो डोज सिफारिस गरिएको छ । कोभिशिल्डको पहिलो डोज लगाएपछि बेलायतमा पहिलोपटक देखिएको भेरियन्टबिरुद्ध लक्षणसहितको कोरोना संक्रमण हुनबाट ६५ प्रतिशत संरक्षण प्रदान गरेको पाइएको छ । त्यस्तै पहिलो डोज लगाएपछि सिकिस्त हुनबाट रोक्न ८० प्रतिशत प्रभावकारी पाइएको छ ।

पहिलो डोज लगाएपछि व्यक्तिलाई कोरोना संक्रमण भएर निको भएको खण्डमा समेत दोश्रो डोज भने नछुटाउन विज्ञहरुले सुझाव दिएका छन् । तर पहिलो डोज लगाएपछि उपलब्ध भएसम्म दोश्रो डोज लगाउँदा धेरै समयको अन्तर नराख्न विज्ञहरुले सुझाव दिएका छन् । क्यानडाको कतिपय प्रान्तमा १६ हप्ताको अन्तरलाई घटाएर १२ देखि १४ हप्तासमेत बनाइएको छ ।

पहिलो डोज कोभिशिल्ड लगाएकाहरुलाई दोश्रो डोज फरक भ्याक्सिन लगाउँदा अझ राम्रो

पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज फरक भ्याक्सिन लगाउन जर्मनीले सशक्त सुझाव दिएको थियो । जर्मनीको भ्याक्सिनबारेको स्थायी कमिटिले पहिलो डोज आष्ट्राजेनेका वा कोभिशिल्ड लगाएकाहरुलाई जुनसुकै उमेर समुहका भएपनि दोश्रो डोज एमआरएनए भ्याक्सिन (फाइजर, मोडेर्ना ) लगाउन सुझाव दिएको थियो । तर पहिलो डोज कोभिशिल्ड लगाएकाहरुले नेपालमा वितरित भेरोसेल वा जोन्सन एण्ड जोन्सन भने लगाउन नहुने नेपाल सरकारले स्पष्ट पारेको छ ।

चीनले नेपाललाई प्रदान गरेको भेरोसेल भ्याक्सिन भने एमआरएनए प्रविधिबाट बनेको भ्याक्सिन होइन । त्यसैले पहिले कोभिशिल्ड लगाएकाहरुले दोश्रो डोज यो भ्याक्सिन लगाउन हुने नहुनेबारे कुनै अध्ययन भएको छैन । भेरोसेल भ्याक्सिन कमजोर वा निस्कृय पारिएको भाइरसको प्रयोगबाट बनाइएको भ्याक्सिन हो । यो प्रविधिबाट भ्याक्सिन बनाउँदा भाइरसलाई कमजोर बनाइएको हुन्छ, जसका कारण उक्त भाइरस रोगको कारण बन्दैन तर इम्युन प्रणालीको प्रतिरक्षामा भने काम गर्छ ।

पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज एमआरएनए प्रविधिबाट बनेको फाइजर वा मोडेर्ना भ्याक्सिन लगाउन सशक्त सुझाव दिनेमा जर्मनी विश्वकै पहिलोमध्येको देश भएको छ । जर्मन चान्सलरले पनि पहिलो डोज आष्ट्राजेनेका भ्याक्सिन लगाएकी थिइन् भने दोश्रो डोज मोडेर्ना भ्याक्सिन लगाएकी थिइन् ।

जर्मनीको भ्याक्सिनबारेको स्थायी कमिटिले फरक फरक भ्याक्सिनका डोजहरु मिसाएर लगाउँदा त्यसबाट सिर्जित इम्युन रेस्पोन्स सर्वोच्च रहेको बताएको छ । यसअगाडि क्यानडाको भ्याक्सिनबारेको राष्ट्रिय सल्लाहकार समितिले पहिलो डोज अक्सफोर्ड आष्ट्राजेनेका भ्याक्सिन (कोभिशिल्ड) लगाएकाहरुलाई दोश्रो डोज एमआरएनए भ्याक्सिन लगाउन सामान्य सिफारिस गरेको थियो ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

क्यानडाको सल्लाहकार समितिले पनि पहिलो डोज आष्ट्राजेनेका वा कोभिशिल्डसँग दोश्रो डोज एमआरएनए भ्याक्सिन लगाउँदा राम्रो इम्युन रेस्पोन्स प्राप्त भएको भन्दै त्यस्तो सिफारिस गरेको थियो । गत जुन २८ मा प्रकाशित अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुको एउटा रिपोर्टमा पहिलो डोज आष्ट्राजेनेका वा कोभिशिल्डसँग दोश्रो डोज फाइजर भ्याक्सिन लगाउँदा मजबूत इम्युन रेस्पोन्स उत्पन्न भएको निष्कर्ष निकालको थियो । यो शोधमा पहिलो डोज फाइजर र दोश्रो डोज आष्ट्राजेनेका तथा पहिलो डोज आष्ट्राजेनेका र दोश्रो डोज फाइजरको अध्ययन गरिएको थियो ।

भ्याक्सिनको मिश्रणबारे कस्ता अध्ययन भइरहेका छन् ?

पहिलो डोज एउटा प्रकारको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै प्रकारको दिंदा स्वास्थ्य सुरक्षाबारे प्रश्नहरु उठाइएको छ । अमेरिकाका नियामकहरु यस्तो अभ्यासलाई प्रोत्साहन गर्न अनिच्छुक देखिएका छन् । तर वैज्ञानिकहरु र स्वास्थ्यविदहरुले भने पहिलो डोज एउटा प्रकारको भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै प्रकारको दिंदा उल्लेख्य फाइदा हुनसक्ने सम्भावनाकाबारेमा रुची देखाएका छन् । वैज्ञानिक र शोधकर्ताहरुले फरक फरक प्रकारका भ्याक्सिन मिसाउने अभ्यास इबोला लगायतका अन्य रोगका सन्दर्भमा पनि यस अगाडि गरेका थिए ।

फरक फरक भ्याक्सिनका डोजहरुबारे कैयन क्लीनिकल परीक्षणहरु समेत भइरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले आष्ट्राजेनेका, फाइजर, मोडेर्ना र नोभाभ्याक्स लगाएका भ्याक्सिनका डोजहरु मिश्रणबारे कमकोभ ट्रायल नामको परीक्षण गरिरहेका छन् । त्यस्तै अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले पनि यसबारे अध्ययन गरिरहेको छ ।

रसियन शोधकर्ताहरुले पनि एउटा डोज स्पुत्निक भी र अर्को डोज अष्ट्राजेनेका लगाउँदा पर्ने प्रभावबारे अध्ययन गरिरहेका छन् । यद्यपी स्पुत्निक भी आफैमा मिश्रण खालको भ्याक्सिन हो । यसको पहिलो डोज र दोश्रो डोज फरक फरक फर्मुलाबाट बनाइएको छ । अधिकांश अध्ययनहरु प्रारम्भिक चरणमा रहेका छन् भने कतिपय अध्ययनहरुले आशाजनक प्रारम्भिक परिणामहरु सार्वजनिक गरेका छन् ।

स्पानिस शोधकर्ताहरुले गरेको घोषणामा एउटा डोज आष्ट्राजेनेका र अर्को डोज फाइजरको भ्याक्सिन लगाएकाहरुमा कोरोनाबिरुद्ध मजुबत प्रतिरक्षाको विकाश भएको उल्लेख छ । दुबै डोज आष्ट्राजेनेका भ्याक्सिन लगाएकाहरुका तुलनामा मिश्रण डोज लगाएकाहरुमा अझ राम्रो प्रतिरक्षा प्रणाली विकाश भएको अध्ययनको निष्कर्ष रहेको छ । तर दुबै डोज फाइजरका भ्याक्सिन लगाएका तुलनामा मिश्रण लगाउँदा विकाश भएको प्रतिरक्षा प्रणाली अझ राम्रो भए नभएको स्पष्ट छैन ।

कुन कुन देशले दिए फरक फरक प्रकारका भ्याक्सिन लगाउन अनुमति ?

बेलायतमा सुरुकै चरणमा फरक फरक भ्याक्सिनका दुईडोज मिसाउन मिल्ने अनुमति दिएको थियो । त्यस्तै जर्मनी, क्यानडा, स्वीडेन, फ्रान्स, स्पेन, इटलीले पहिलो डोज आष्ट्राजेनका भ्याक्सिन लगाएकाहरुलाई दोश्रो डोज अर्कै ब्राण्डको भ्याक्सिन लगाउन स्वीकृति दिएका छन् । आष्ट्राजेनका भ्याक्सिन लगाएकाहरुलाई दुर्लभ प्रकारको रगत जम्ने समस्या देखिएका विवरणहरु आएपछि यी देशहरुले पहिलो डोज आष्ट्राजेनेका लगाएकाहरुलाई दोश्रो डोज अर्कै भ्याक्सिन लगाउन अनुमति दिएका हुन् ।

त्यस्तै आष्ट्राजेनेका भ्याक्सिनको दोश्रो डोज आउन ढिलो भएपछि दक्षिण कोरियाले पनि गत साता पहिलो डोज आष्ट्राजेनेका लगाएकाहरुले दोश्रो डोज फाइजर भ्याक्सिन लगाउनसक्ने घोषणा गरेको छ । क्यानडाको भ्याक्सिन सल्लाहकार प्यानलले एउटा डोज फाइजर र अर्को डोज मोडेर्ना भ्याक्सिन लगाउन सकिने बताएको छ ।

तर यो मामलामा अमेरिकाको खाद्य तथा औषधी विभाग एफडीए भने केही रुढीवादी देखिएको छ । मोडेर्ना वा फाइजरको पहिलो डोज लगाएकाहरुले कुनै असाधारण अवस्थाका कारण पहिलो डोज लगाएको भ्याक्सिन उपलब्ध नभएको खण्डमा फरक ब्राण्डको दोश्रो डोज लगाउनसक्ने एफडीएले बताएको छ । अमेरिकाको एफडीएले क्लीनिकल परीक्षणका तथ्यांकहरु राम्रोसँग मूल्यांकन नगरीकनै भ्याक्सिन मिश्रणका लागि अनुमति दिने तत्काल सम्भावना देखिएको छैन ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि भ्याक्सिनहरु मिश्रण गरेर लगाउन स्वीकृति दिएको छैन । चाइनिज भ्याक्सिन भेरोसेल र बेलायतमा विकाश गरिएको आष्ट्राजेनेका मिश्रण गरेर लगाउन विश्व स्वास्थ्य संगठनले स्वीकृति प्रदान गरेको भन्दै आएका समाचारहरुलाई पनि विश्व स्वास्थ्य संगठनले खण्डन गरेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com