अमेरिकी विदेश मन्त्रालयबाट अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेको विवरण अदालतमा पेश
प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार
अमेरिकी विदेशमन्त्रालयले अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेहरुको संख्या अदालतमा पेश गरेको छ । जुलाई १३ मा अदालतले अहिलेसम्म आर्थिक बर्ष २०२१ को डाइभर्सिटी भिसा पाएका र भिसाको अन्तरवार्ता तय भएकाहरुको संख्या बुझाउन अमेरिकी विदेश मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसको जवाफ अमेरिकी विदेशमन्त्रालयले जुलाई १६ मा दिएको छ ।
अदालतमा पेश गरिएको कागजात अनुशार जुलाई ८ सम्म आर्थिक बर्ष २०२१ का ४ हजार ३ सय ५ जनाको आवेदनहरुबारे निर्णय गरिएको जनाइएको छ । जसमध्ये ३ हजार ५ सय ६ जनाले भिसा प्राप्त भएको अदालतमा ब्यूरो अफ कन्सुलर अफेयर्सको अफिस अफ डोमेस्टिक अपरेशन भिसा अफिसका अधिकारीका तर्फबाट पेश गरिएको विवरणमा जनाइएको छ ।
जुलाई १५ सम्म ६ हजार १८ भिसा अन्तरवार्ता तय गरिएको जनाइएको छ । उनीहरुको अन्तरवार्ता आगामी दिनमा हुने अपेक्षा गरिएको छ । यी भिसा अन्तरवार्तामा कुल ११ हजार ६ सय ५७ जनाको प्रतिनिधित्व हुनेछ । अर्थात् डिभी विजेताका दम्पत्ति र छोराछोरीहरुसमेत यसमा सहभागी छन् ।
अमेरिकी सरकारको विदेश मन्त्रालयले यसअगाडि मे महिनासम्म भिसा पाउनेहरुको विवरणमात्र सार्वजनिक गरेको थियो ।
मे मा विश्वभरका कैयन अमेरिकी दूतावासले सिमित संख्यामा सन् २०२१ का डिभी लोटरी विजेताहरुलाई पनि भिसा जारी गरेका थिए । तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने डिभी विजेता कसैलाई पनि भिसा जारी गरेन ।
मे महिनामा विश्वका विभिन्न देशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटबाट झण्डै १ हजार डिभी विजेतालाई भिसा जारी गरिएको थियो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक खसोखासले विश्लेषण गर्दा मे महिनामा विश्वभरबाट ९६२ जना डिभी विजेताहरुले भिसा पाएका थिए ।
अमेरिकी दूतावास काठमाडौंले मे महिनामा ५५४ जनालाई आप्रवासी र गैरआप्रवासी भिसाहरु जारी गरेको थियो । तर त्यसमा एकजना पनि डिभी विजेताहरु छैनन् । सन् २०२१ का डिभी विजेताहरुले सेप्टेम्बरको अन्तिमसम्म भिसा पाइसक्नुपर्ने हुन्छ । वर्तमान कानून अनुशार उनीहरुले अक्टोबर सुरु भएपछि भिसा पाउन सक्नेछैनन् । त्यसका लागि अब झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ ।
मे महिनामा विश्वभरबा अमेरिकी दूतावास र कन्सुलेटमध्ये अबुधाबीबाट ४५ जना, अल्जियर्सबाट ४५ जना, अल्मेटीबाट ९६ जना, विश्केकबाट ४० जना, कायरोबाट ३३ जना, कासाब्लान्काबाट ४७ जना, दोहाबाट २० जना, जर्जटाउनबाट २३ जना, कुवेतबाट १५ जना, मुम्बईबाट १० जना, नैरोबीबाट २५ जना, प्रिस्टिनाबाट २९ जना, सिड्नीबाट ४१ जना, तिब्लिसीबाट ३५ जना, टोकियोबाट १८ जना, वार्साबाट ४२ जना, यावन्डेबाट ७४ जना डिभी विजेतालाई भिसा जारी गरिएको थियो ।