सिकाईमा क्षति: न्युयोर्कका दुई नेपाली बालिकाले यसरी गरे महामारीपछि अनलाइन कक्षाको सामना


प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार

– किशोर पन्थी 

‘कोरोना महामारीको बेलामा अनलाइन कक्षामा बच्चाहरुलाई के सिकाइयो र बच्चाहरुले के सिके केही थाहा भएन ।’ दुई छोरीकी आमा न्युयोर्कको क्वीन्स नर्दन ब्लुभर्ड निवासी कञ्चन बस्नेत (३४) ले भनिन् ।

कञ्चन सन् २०१६ को मार्चमा जेठी छोरी दिक्षा केसी (१२) सहित नेपालबाट अमेरिका आएकी आप्रवासी हुन् । त्यतीबेला दिक्षाले १ कक्षा नेपालमा पढिसकेकी थिइन् । अमेरिकाको न्युयोर्क आइसकेपछि उनलाई २ कक्षामा भर्ना गरियो । सुरुमा भाषाका कारण केही समस्या भएपनि दिक्षालाई पछि भाषा सिक्न र स्कुलमा एड्जस्ट हुन खासै समस्या भएन । दिक्षा नर्दन ब्लुभर्डमा रहेको आईएस २३० मा सातौं कक्षामा अध्ययन गर्दैछिन् ।

तर कञ्चनकी कान्छी छोरी देवयानी केसी (८) लाई भने त्यति सहज भएन । ४ बर्षसम्म नेपालमै बसेकी देवयानी २०१८ मा आमा र दिदीका साथमा बस्न अमेरिका आएकी हुन् । त्यसपछि झण्डै १ बर्ष यत्तिकै बित्यो । त्यसपछि स्कुल भर्ना भएकी उनी अमेरिकाको परिवेश र भाषासँग राम्रोसँग परिचित हुन नपाउँदै कोरोना महामारी सुरु भयो । हाल उडसाइडमा रहेको पीएस १५७ मा ३ कक्षामा अध्ययनरत देवयानीले राम्रोसँग अक्षर पढ्न सक्दिनन् ।

कोरोनाका महामारीका कारण बालबालिकाको सिंगै पुस्ताको शिक्षामा क्षति पुर्याएको छ । अमेरिकामा महामारी सुरु भएपछि केजीदेखि १२ सम्मका ५० लाख बालबालिकाहरुलाई अनलाइन कक्षाका लागि घर पठाइएको सेभ द चिल्ड्रेनको तथ्यांकमा छ । स्कुल, शिक्षक र साथीहरुबाट छुटाएर घरमा राख्दा कैयन बच्चाहरुमा पढाइमा निकै पछि परेका छन् । कम आम्दानी हुने परिवारका र अश्वेत परिवारका बच्चाहरु अझ बढी समस्यामा परे । त्यसबाट कञ्चनको परिवारपनि अछुतो रहन सकेन ।

देवयानी केसी (८)

कोरोना महामारीपछि विद्यालयहरुले अनलाइन कक्षा संचालन गरे । तर ८ बर्षकी देवयानीका लागि अनलाइन कक्षा त्यती उपयोगी हुन सकेन । सन् २०२० को मार्चपछि नै अनलाइन कक्षा संचालन भएपनि दिक्षा र देवयानी दुबैका लागि सिकाइमा ठूलो क्षति भएको आमा कञ्चनको अनुभव छ । कञ्चन भन्छिन् – ‘महामारी अगाडि नियमित कक्षाहुँदा दिक्षाले परीक्षामा ९९ प्रतिशतसम्म ल्याउथिन् । तर अहिले ९० प्रतिशतभन्दा कम रहेको छ । महामारी अगाडिसम्म ७० प्रतिशतसम्म ल्याउने देवयानीको स्कोर अहिले ४३ प्रतिशत भन्दा कम छ ।’

भाषाको कारणले पनि निकै समस्या भएको कञ्चन बताउँछिन् । आफ्नो अँग्रेजी पनि सामान्य भएको र सानो बच्चाले अँग्रेजी राम्र्रोसँग नबुझ्ने भएकाले निकै गाह्रो भएको उनको भनाई छ । सानो बच्चालाई नेपाली पृष्ठभूमिबाट आएकाले निकै गाह्रो भएको र शिक्षकले भनेको कुरा अनलाइन कक्षामा सानो बच्चाले नबुझ्ने समस्या भएको उनी बताउँछिन् ।

दिक्षा केसी (१२)

कञ्चन भनिछन् – ‘स्कुलमा भए नबुझेको कुरा शिक्षकले नजिक गएर सिकाउथें होला । बुझाउन सहज हुन्थ्यो होला । तर अनलाइनबाट त्यो सम्भव भएन । एलिफेण्टभन्दा एन्ट बुझ्नेजस्तो अवस्था आयो । एउटाभन्दा अर्कै बुझ्ने समस्याका कारण सानी छोरीले कैयन होमवर्क स्कीप गरिन् । ४० वटा प्रश्नमा २० प्रश्न नै नबुझेर स्कीप गर्ने अवस्था समेत आयो ।’

कञ्चनकी जेठी छोरी दीक्षाले भनिन्, ‘म अनलाइन पढ्नु भन्दा स्कूल जान चाहान्छु किनकि म लामो समय देखि मेरो घर भित्र बस्दै आएको छु। म बोर छु। म स्कुलमा साथीहरुसंग रमाईलो गर्थें। त्यसैले म सेप्टेम्बरमा स्कूल जान उत्सुक छु।’

एक्लै परिवार धान्नुपर्ने बाध्यताका कारण पनि कञ्चनले कोरोना महामारीमा बच्चाहरुको शिक्षालाई प्राथमिक बनाउन सकिनन् । क्वीन्सको ७२ स्ट्रीट नर्दन ब्लुभर्डमा बस्दै आएकी उनले पारिवारिक सहयोगपनि खासै पाउन सकिनन् । उनले महामारीमा बेलामा पनि नियमित काममा जानुपर्ने अवस्था आयो । ज्याक्सनहाइटमा ट्राभल एजेन्सीमा काम गर्ने उनले टिकट रद्द भएका कैयन ग्राहकलाई सेवा दिनुपर्ने अवस्था थियो । कोरोनाको महामारीका कारण उडानहरु रद्द हुँदा प्रभावित ग्राहकहरुलाई सेवा दिदैमा उनलाई फुर्सद थिएन । परिवारमा गासबास र कपासका लागि कमाउने व्यक्ति आफैमात्र भएकाले पनि कञ्चनले जीवनयापनको विषयलाई नै प्राथमिकता दिनुपर्ने अवस्था थियो ।

कञ्चन भन्छिन् – ‘काम छाड्न पनि सकिएन । काम छाडेमा घरखर्च के ले धान्ने ? आफै घरमुली भएपछि महामारीका बेलामा धेरैखाले समस्या झेल्नुपर्यो । बच्चाहरुले होमवर्क गरे नगरेको पनि हेर्न भ्याइएन ।’

अनलाइन कक्षाका लागि उनीहरुसँग आइप्याड वा ल्यापटप समेत थिएन । उनीहरुले यो समस्या विद्यालयलाई जानकारी दिएपछि विद्यालयले पछि फिर्ता गर्ने शर्तमा आईप्याड दिइको थियो । तर कसैलाई पनि कम्प्यटुरका सन्दर्भमा धेरै ज्ञान नभएका कारण सुरुमा अइलानइन सेटअप गर्नमा नै समस्या भयो । लगइन आइडी दिएर विद्यालयले फोनबाट सिकाएपछि उनीहरुले जसोतसो सिके ।

‘बच्चाहरुको अनलाइन कक्षा विहानै ७ बजेबाट थियो । म रातीसम्म काम गर्नुपर्ने भएकाले थाकेर विहानै उठ्न नसक्ने अवस्था थियो । उठेर आफू र बच्चाहरुका लागि खाना तयार गर्दासम्म म काममा जाने बेला भइसकेको हुन्थ्यो । बच्चाहरुको अनलाइन कक्षा चलिरहेकै बेलामा म काममा जानुपर्ने भएकाले त्सपछि उनीहरुको निगरानी गर्न सम्भव भएन ।’ कञ्चन सम्झिन्छन् ।

‘विद्यालयमा त शिक्षक अगाडि हुने भएकाले शिक्षकको निगरानीमा उनीहरुले राम्रोसँग ध्यान दिएर पढ्थे । तर अनलाइन कक्षा हुँदा बच्चाहरु घरमा आइप्याड अन गरेर खेल्न गएपनि शिक्षकहरुले खासै वास्ता गर्दैनथे । क्यामेरा अफ नै गरेर हिडेपनि शिक्षकहरुले केही भन्दैनथे । बच्चाहरु बीचमै साइनआउट गरेर खेल्न जान्थे । त्यसैले पढ्नका लागिमात्र पढेजस्तो भयो । बच्चाहरुका लागि सिकाई खासै प्रभावकारी हुन सकेन । बच्चाहरुको सिकाइमा धेरै क्षति भयो ।’

सेभ द चिल्ड्रेनको तथ्यांक अनुशार यसरी नियमित अनलाइन कक्षामा सहभागी नहुने र बीचमै साइआउट गर्ने विद्यार्थीहरुको संख्या कम आम्दानी हुने परिवारमा ४० प्रतिशतभन्दा बढी रहेको थियो । कम आम्दानी हुने परिवारका जम्मा ६० प्रतिशत विद्यार्थीहरु नियमित अनलाइन कक्षामा सहभागी भएको तथ्यांक रहेको छ । नेपाली जस्ता अल्पसंख्यक र आर्थिक रुपमा बिपन्न समुदायका सन्दर्भमा त खास तथ्यांकहरु पनि छैनन् भने अध्ययनहरु समेत भएका छैनन् ।

बच्चाहरुले नबुझेर कैयन होमवर्कहरु छाडेको, समयमा बुझाउन नसकेको, कैयन कक्षाहरु बीचमा नै छाडेको र पछाडि छाडिएका बच्चाहरुका लागि थप सिकाउनका लागि शिक्षकहरुले पनि खासै पहल नगरेको कञ्चन बताउँछिन् । कति प्रश्नहरु नबुझेर बच्चाहरुले जवाफ दिन नसकेको र नबुझेका प्रश्नहरु बुझाउन शिक्षकहरुले पनि खासै ध्यान नदिएको उनको भनाई छ ।

अभिभावकहरुका लागि कक्षाडोजोको व्यवस्था गरिएपनि डोजो समेत खासै प्रभावकारी हुन नसकेको कञ्चनको गुनासो छ । कुनै समस्या हुँदा डोजोमा लेखेपछि विद्यालयले त्यसलाई समाधान गर्ने प्रयास गरेपनि बच्चाहरुको छुटेको पढाइका बारेमा लेख्दा खासै रेस्पोन्स नआएको कञ्चन बताउँछिन् ।

एकातिर महामारीमा समेत जोखिम उठाएर काममा नगए घरखर्च धान्न गाह्रो थियो । अर्कोतर्फ गतबर्षको मे महिनामा सपरिवारलाई नै कोरोना संक्रमण भयो । बच्चाहरुलाई अस्पताल लगियो । सबैजना औषधी सेवन गर्दै क्वारेन्टीनमा बस्ने अवस्था आयो । दुईसाताभन्दा बढी बच्चाहरुले अनलाइन कक्षा पनि लिन पाएनन् । कक्षा चलेकै बेला कोरोना संक्रमण भएकाले बच्चाहरुलाई बढी तनाव हुने डरले विद्यालयले कक्षामा नआउन भने । त्यतीबेला छुटेको कक्षा रिकभरका लागि पनि विद्यालयले कुनै योजना दिएन ।

कञ्चन भन्छिन् – ‘सिकाइमा भएको क्षतिको रिकभरका लागि विद्यालयका तर्फबाट घरमै आएर रिचआउट गर्ने प्रयास पनि भएन, व्यक्तिगत रुपमा पनि कसैले केही सहयोग गरेनन् ।’

कोरोना महामारीका कारण फैलिएको त्रासले गर्दा अभिभावकहरु मिलेर बच्चाहरुलाई सहयोगका लागि केही योजना बनाउन पनि सम्भव नभएको उनको भनाई छ । विद्यालयले अनलाइन र अनस्कुलको अफर गरेपनि आफूले पूर्णकालिनरुपमा काम गर्नुपर्ने अवस्थाका कारण तालिका नमिलेकाले सम्भव नभएको कञ्चनले बताइन् । नेपाली समुदायमा कैयन सामुदायिक संघ संस्थाहरु सकृय रहेपनि उनीहरुले विद्यार्थीहरुको सिकाइका बारेमा योजना बनाउन खासै ध्यान दिएनन् ।

आफ्ना दुई छोरीका साथमा कञ्चन बस्नेत

‘मैले सिकाइमा पछाडि परेका बच्चाका लागि केही कार्यक्रम छ कि भनेर खोजें । तर केही कार्यक्रम भेट्टाउन सकिन । ट्युसन कसरी हाल्न सकिन्छ भनेर पनि खोजेको थिएँ । तर महामारीमा घरमा कोही आएर पढाउने स्थीति पनि भएन । कतै लगेर पढाउने अवस्था पनि भएन ।’ कञ्चन भन्छिन् ।

युनाइटेड शेर्पा एसोसिएशन यूएसएका तत्कालीन अध्यक्ष उर्गेन शेर्पाले महामारीको बेला ज्यान बचाउनु महत्वपूर्ण भएकाले बालबालिकाको शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताए ।

‘हामीले घरमा बच्चाहरुलाई कसरी पढाउने भन्ने बारे जानकारी शेयर गरेका थियौं। हामीले बच्चाहरुको मानसिक स्वास्थ्यको बारेमा जागरूकता बढाउने टिप्स पनि दिएका थियौं। तर सिकाईमा क्षति बेहोरेका बालबालिकाहरुलाई पढाउनको लागी कुनै छुट्टै कार्यक्रम थिएन,’ – उनले भने।

युनाइटेड शेर्पा एसोसिएशनले महामारीबाट प्रभावित नेपाली समुदायलाई औषधि, स्वास्थ्य सामग्री र खाना वितरण गरेको थियो। बिरामीको उपचार र मृतकको अन्तिम संस्कारमा आवश्यक सहयोग प्रदान गर्न संगठनले महत्वपूर्ण भूमिका खेलेको थियो । कलेजका बिद्यार्थीहरुलाई आर्थिक र खाना सहयोग पनि प्रदान गरिएको थियो।

३ दर्जन सामाजिक संस्थाहरु संलग्न कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुह न्युयोर्कले महामारी प्रभावित नेपाली समुदायका सदस्यहरूलाई उल्लेख्य सहयोग गरेको थियो । मार्च २०२० को तेस्रो हप्तामा जब नेपालीहरु कोरोना संक्रमण बाट मर्न थाले र धेरै नेपाली भेन्टिलेटरमा गए, तब न्युयोर्कमा नेपाली समुदायमा स्थिति तनावपूर्ण बन्यो । सुरुका दिनहरुमा फार्मेसीहरुमा सेनिटाइजर, मास्क, पन्जा, टाइलेनोल, र थर्मामीटरको पनि अभाव थियो। यस अवस्थामा कोरोनाबिरुद्ध सचेतना एवं सहयोग समुहले स्वास्थ्य सामाग्रीहरु ससंकलन गर्ने न्यूयोर्कमा समस्यामा परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराउन थालेको थियो।

‘हाम्रो ध्यान जीवन बचाउनमा केन्द्रित भएको छ। बच्चाहरुको शिक्षाको लागी कुनै योजना थिएन,’-  समुहका तत्कालिन संयोजक आनन्द बिष्टले भने।

पछाडि परेका बच्चाका लागि सिकाईमा भएको क्षति रिकभर गर्न अतिरिक्त कक्षाहरु आवश्यक रहेको कञ्चनको भनाई छ । उनको सुझाव छ – ‘पछाडि परेका बच्चाहरुलाई विशेष कोर्स र अतिरिक्त कक्षको आवश्यकता छ । बच्चाहरु धेरै पछि परे । अनलाइनमा पढेको कुरा बुझेका छैनन् । माथिल्लो ग्रेडमा झन् गाह्रो हुन्छ । सानो छोरीलाई अहिलेसम्म राम्रोसँग अक्षर पढ्न आउदैन । थ्रीमा झन् गाह्रो हुन्छ । सानो बच्चालाई आफ्टर स्कुल र ठूलोलाई ट्युसन हाल्न पाए सिकाइमा भएको क्षति रिकभर हुन्थ्यो कि ? नत्र त निकै गाह्रो हुन्छ ।’

आफ्टर स्कुलको व्यवस्था भएमा उचित हुने कञ्चनको सुझाव छ । स्कुल समाप्त भएपछि पनि एकदुईघण्टा बच्चाहरुलाई शिक्षकले होमवर्क गर्न सघाउने खालको कुनै स्कीम भएमो उचित हुने उनको भनाई छ । उनी भन्छिन् – ‘अभिभावकहरु पनि मिलेर बच्चाहरुलाई सिकाउने काम गर्न सकिन्छ । सरकारले विद्यालयहरुलाई फण्ड उपलब्ध गराएको सुनिएको छ । त्यसको पनि सही सदुपयोग हुनुपर्छ ।’

(यो रिपोर्ट विलियम एण्ड फ्लोरा हिउलेट फाउन्डेशनको सहयोगमा तयार पारिएको हो ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com