नेपाली समुदायको सम्मानमा जर्सीसिटी सिटीहलमा फहराइयो नेपालको झण्डा
प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार
नेपाली समुदायको सम्मानमा अमेरिकाको न्युजर्सीको जर्सीसिटी सिटीहलमा नेपालको झण्डा फहराइएको छ । ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा नेपालको झण्डा फहराइएको हो ।
सिटी हल जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवन हो । उक्त भवनमा अमेरिकाको झण्डा राखिएको हुन्छ । अमेरिकाको झण्डासंगै जर्सी सिटी मेयर स्टेभन फुलपले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराएका हुन् । कार्यक्रममा नेपालको राष्ट्रगान बजाउनुका साथै सिटी हल भवनको माथिल्लो तल्लामा नेपाली झण्डा फहराईएको हो।
कार्यक्रममा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी विशेषदूत र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा विष्णुमाया परियारका साथै नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थीति रहको थियो ।
जर्सी सिटीमा रोजगार एवं तालिम बोर्डकी सदस्य डाक्टर बिष्णुमाया परियारको विशेष पहलमा नेपालको झण्डा फहराइएको हो । यसअगाडि सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनमा नेपालको झण्डा फहराएको थियो ।
जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोभेम्बर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । जर्सी सिटीमा डा परियारको पहलमा झण्डा फहराइएको थियो । उनी जर्सी सिटी मेयरको डाईभर्सिटी एण्ड इन्क्लुजन बोर्डमा २ कार्यकाल ४ बर्ष सल्लाहकार रहेकी थिइन् ।