नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने विदेशीहरुले अमेरिका प्रवेश पाउने


प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार

नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने सबै भिसावाहक विदेशीहरुले अमेरिका प्रवेश पाउने भएका छन् । अमेरिकाले बेलायत, युरोपियन युनियन लगायतका ३० देशबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएकोमा नोभेम्बरदेखि ती देशबाट यात्रा गर्नका लागि पनि भ्याक्सिन लगाएकाहरुलाई छुट दिइने भएको छ ।

अमेरिका प्रवेशका लागि उनीहरुले भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । भ्याक्सिन लगाएको प्रमाण देखाउने सवै विदेशीहरुलाई अमेरिका प्रवेश दिइने नियम नोभेम्बरको पहिलोसाताबाट लागु हुने अपेक्षा गरिएको छ । एयरलाइन्स र अन्य ट्राभल उद्योग समुहहरुले यात्रा प्रतिबन्ध हटाउन माग गर्दै आएपनि अहिलेसम्म बाइडेन प्रशासनले ट्रम्प प्रशासनको ३० देशमाथिको यात्रा प्रतिबन्ध लागु गर्दै आएको छ ।

बाइडेन प्रशासनले अमेरिका फर्कन लागेका भ्याक्सिन नलगाएका अमेरिकनहरुका लागि समेत नियम कडा बनाउने भएको छ । उनीहरुले अमेरिका प्रस्थान गर्नुभन्दा एकदिन अगाडि कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ भने अमेरिका आइसकेपछि पनि कोरोना परीक्षण गराउनुपर्नेछ ।

भ्याक्सिन बृहत रुपमा उपलब्ध भइसकेपछि युरोपियन र बेलायती अधिकारीहरुले आफ्नो देश यात्रा गर्ने भ्याक्सिन लगाएका अमेरिकनहरुका लागि नियम खुकुलो बनाएका थिए । तर अमेरिकाले सोही अनुशार उनीहरुका लागि नियम खुकुलो बनाएको थिएन । अब सीडीसीले पनि अमेरिका आउने हरेक यात्रुको इमेल र फोन नम्बर लगायतका विवरणहरु राख्नुपर्नेगरी एयरलाइन्सहरुलाई आदेश जारी गर्ने भएको छ ।

अहिलेसम्म भ्याक्सिन स्वीकृत नगरिएका उमेरका बालबालिकाहरुका लागि भने छुट दिइनेछ । तर आगामी नीतिका बारेमा सम्पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन । पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई अमेरिका फर्केपछि क्वारेन्टीन अनिवार्य गरिने छैन भने भ्याक्सिन नलगाएकाहरुलाई कडा नियम लागु गरिनेछ ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com