डिभी २०२० का ९९०५ संरक्षित भिसा आगामी सेप्टेम्बरभित्रै जारी गरिने
प्रकाशित मिति : आश्विन २८, २०७८ बिहीबार
डिभी २०२० का ९९०५ संरक्षित भिसा आगामी सेप्टेम्बरभित्रै जारी गरिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले सुचना जारी गर्दै डिभी २०२० का संरक्षित ९ हजार ९ सय ५ भिसाहरु आर्थिक बर्ष २०२२ को अन्तिमसम्म अर्थात् आगामी सेप्टेम्बर ३० सम्म जारी पूरा गर्न अदालतको आदेश आएको बताएको छ । समयसिमाबारेको आदेश अदालतले बिहिबार दिएको हो । सकेसम्म चाँडो भिसा प्रकृया सुरु गर्न अदालतले आदेश दिएपनि कहिलेदेखि सुरु गर्ने भन्नेबारे भने विदेश मन्त्रालयले केही बताएको छैन ।
विदेश मन्त्रालयले डिभी २०२० र २०२१ का संरक्षित भिसा प्रकृयामा लैजानेबारे छिट्टै निर्देशिका समेत जारी गर्ने जनाएको छ । भिसा कसरी र कहिले प्रकृया अगाडि बढाउने भन्नेबारे उपलब्ध हुनासाथ सार्वजनिक निर्देशिका जारी गर्ने विदेश मन्त्रालयको भनाई छ ।
डिभी २०२० र २०२१ का सन्दर्भमा अदालतले भिसा संरक्षणका लागि विभिन्न समयमा दिएका आदेशहरुबारे आफूहरु सचेत रहेको विदेश मन्त्रालयको भनाई छ । यसअगाडि अदालतले संरक्षित भिसाहरु कहिलेसम्म जारी गर्ने भन्ने सन्दर्भमा कुनै आदेश नदिएको बताएको विदेश मन्त्रालयले डिभी २०२० का संरक्षित भिसाका लागि आगामी सेप्टेम्बर ३० सम्मको डेडलाइन अपडेट गरेको छ ।
ती भिसाहरु केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा जारी गर्दै जाने विदेश मन्त्रालयले जनाएको छ । र्याण्डम आधारमा जारी गर्दै जाँदा ९ हजार ९ सय ५ संख्या पुगेपछि बाँकीलाई भिसा जारी गरिनेछैन ।
त्यस्तै सेप्टेम्बर २७ मा वासिंटन डिसीको अदालतकै न्यायाधिसले कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरुका कारण भिसा पाउन नसकेका आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुका लागि ९६६ भिसा संरक्षण गर्न आदेश दिएको थियो । त्यस्तै सेप्टेम्बर ३० मा दिइएको आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । अर्को आदेशमा थप ४८१ भिसा संरक्षण गर्न र आर्थिक बर्ष २०२२ भित्र जारी गर्न आदेश दिइएको थियो ।
यसरी अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ ।
डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन समाप्त हुने दिन वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले भिसा संरक्षणको आदेश दिएका थिए ।
डिभी २०२१ का विजेताका लागि सन् २०२१ को सेप्टेम्बर ३० भित्र भिसा जारी गर्ने नियम भएपनि अदालतको आदेश पछि सरकारले आगामी दिनमा ८३६१ डिभी विजेताका लागि भिसा जारी गर्नुपर्नेछ । तर ती भिसाहरु कहिले जारी गर्ने भन्नेबारे केही बताइएको छैन ।
आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९ सय ५ भिसा संरक्षण गरिएको छ ।
सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको थियो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।