न्युयोर्कबाट क्यालिफोर्निया उडेको विमानका कर्मचारीमाथि आक्रमणपछि डेनभर डाइभर्ट


प्रकाशित मिति : कार्तिक ११, २०७८ बिहीबार

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट क्यालिफोर्नियाका लागि उडेको विमानमा कार्यरत कर्मचारीमाथि आक्रमण भएपछि विमान डेनभरको विमानस्थलतिर डाइभर्ट गरिएको छ । एकजना पुरुष यात्रुले महिला कर्मचारीमाथि आक्रमण गरेपछि विमान डेनभरमा रहेको विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

आक्रमणबाट नाकमा चोट लागेकी महिला कर्मचारीलाई अस्पताल पठाइएको छ । अमेरिकन एयरलाइन्सको उडान ९७६ मा उक्त घटना भएको हो । विमान सुरक्षित रुपमा अवतरण भएको छ भने आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ ।

आक्रमणकारीलाई अमेरिकन एयरलाइन्सको विमानमा भविश्यमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । साथै उक्त व्यक्तिलाई कानूनी कारवाही नभएसम्म आफूहरु सन्तुष्ट नहुने एयरलाइन्सका तर्फबाट जारी वक्तव्यमा जनाइएको छ ।

न्युयोर्कको क्वीन्समा रहेको जोन अफ केनेडी विमानस्थलबाट बुधबार बेलुका ५ बजे लगत्तै उक्त विमान उडेको थियो । स्थानीय समय अनुशार बेलुका ६ बजेर ४० मिनेटमा विमान कोलोराडोमा अवतरण गरेको थियो ।

विमानका कर्मचारीले मास्क लगाउन भन्दा अस्वीकार गर्दै उक्त व्यक्तिले कर्मचारीमाथि आक्रमण गरेको जनाइएको छ । एकजना यात्रुले ट्वीट गरेको तस्वीरमा आक्रमण गर्ने व्यक्ति डेनभर विमानस्थलमा टर्मिनलमा बसेको देखिएको छ भने हातमा हतकडी लगाइएको छ । उक्त व्यक्तिले मास्क समेत लगाएको देखिन्छ ।

उक्त व्यक्तिले कर्मचारीमाथि दुईपटक अनुहारमा हिर्काएको र कर्मचारी त्यसपछि रगतपच्छे भएर विमानको पछाडिको भागतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा कर्मचारीमाथि आक्रमण गर्ने व्यक्तिलाई २० बर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com