अमेरिकामा आजको चुनावमा नेपाली अमेरिकनको उत्साहजनक सहभागिता, धेरैको ध्यान भर्जिनियातिर


प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार

अमेरिकामा आजको चुनावमा नेपाली अमेरिकनहरुले पनि उत्साहजनक सहभागिता जनाएका छन् । स्थानीय निकायदेखि गभर्नरसम्मको चुनावका लागि आज मुख्य दिन हो । न्युयोर्क सिटी लगायतले आज मेयर छान्दैछन् भने भर्जिनियामा आज गर्भनर चुनिदै छ ।

सन् २०२० को चुनावमा जो बाइडेनले जितेको भर्जिनियामा रिपब्लिकन वा डेमोक्रेटिक गभर्नरमध्ये को चुनिने भन्ने विषयले सबैको ध्यानाकर्षण गरेको छ । त्यस्तै मिनेसोटामा प्रहरी सुधारको मुद्दा मतपत्रमा रहेको छ भने न्युजर्सीमा गभर्नरको चुनाव भइरहेको छ । न्युयोर्कसिटीका साथै एटलान्टाले पनि आज नयाँ मेयर चुन्दैछन् ।

न्युजर्सीमा भएको चुनावमा मतदानपछि डाक्टर विष्णुमाया परियार ।

न्युयोर्कमा मेयर, पब्लिक एड्भोकेट, कम्पट्रोलर, बोरो प्रेसिडेण्ट र सिटी काउन्सिल सदस्यका लागि चुनाव भएको छ । विश्वको ब्यापारिक राजधानीका रुपमा परिचित तथा सबै महादेशका आप्रवासीहरुले खचिखचाउ ८० लाखभन्दा बढी जनसंख्या रहेको न्युयोर्क सिटीको मेयरको चुनावलाई विशेष चासोका साथ हेर्ने गरिन्छ ।

न्युयोर्कमा भएको चुनावमा मतदानपछि मनमोहन सिंह घिमिरे ।

न्युयोर्क सिटीको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन मतदाता झण्डै ८ हजार रहेको विभिन्न तथ्यांकले देखाएको छ । खसोखासले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त तथ्यांक जोड्दा न्युयोर्क सिटीमा अमेरिकन नागरिकता लिने नेपालीमूलका व्यक्तिको संख्या ८ हजारको हाराहारीमा रहेको छ ।

नेपाली मूलका रजिस्टर्ड डेमोक्र्याट्स वा रजिस्टर्ड रिपब्लिकनहरुको संख्या न्युयोर्कमा कति रहेको छ भन्ने यकिन छैन । तर ठूलो संख्यामा नेपालीहरुले यसरी आफूलाई डेमोक्र्याट्स वा रिपब्लिकनका रुपमा रजिष्टर्ड गराएका छैनन् । उनीहरुले प्राइमरीमा मतदान नगरेपनि भोलिको चुनावमा भने मतदानका लागि योग्य रहेका छन् ।

न्युयोर्क निवासी अमित शाह मतदानस्थलमा खटिएका छन् । उनले पनि आजको चुनावमा उत्साहजनक तरिकाले मतदान गरेको बताएका छन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी रहेका छन् । कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् ।

आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय ४४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने दोश्रो तीनमहिनामा १३ सय ५४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरे । तेश्रो तीनमहिनामा ६४६ जना नेपालीहरुले अमेरिकी नागरिकता पाउन सफल भए भने चौथो तीनमहिनामा ११ सय ६२ जना नेपालीहरुले अमेरिकी नागरिकता पाए ।

न्युयोर्कमा आज मतदान गरिदै ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com