ग्रिनकार्डका लागि बुझाइने मेडिकल रिपोर्ट ६० दिन पुरानो भएपनि छुट दिने नियम घोषणा
प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार
युएससीआईएसले ग्रिनकार्ड वा आप्रवासी भिसाका लागि बुझाइने मेडिकल रिपोर्ट ६० दिन पुरानो भएपनि छुट दिने नियम घोषणा गरेको छ । यसअगाडि अध्यागमन सुविधाका लागि आवेदन दिंदा सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेको ६० दिन नाघिसकेको भएमा त्यस्तो रिपोर्टलाई मान्यता नदिइने विगतको नियममा छुट दिदै हस्ताक्षर गरेको ६० दिनभन्दा बढी भएका मेडिकल रिपोर्ट समेत स्वीकार गरिने भएको छ ।
कोरोना महामारीका कारण युएससीआईएसले गर्ने काममा ढिलाई भइरहेको र आवदकले समेत मेडिकल जाँच गर्ने लगायतका विषयमा ढिलाई भइरहेकाले युएससीआईएसले अस्थायी रुपमा ६० दिने नियममा छुट दिने व्यवस्था गरेको जनाएको छ । यो छुट डिसेम्बर ९ देखि सन् २०२२ को सेप्टेम्बर ३० सम्म लागु हुने युएससीआईएसले स्पष्ट पारेको छ ।
सामान्यतया यो रिपोर्टले सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षका लागि काम गर्छ । २ बर्षको अवधिभित्र युएससीआईएसले आवेदनबारे निर्णय दिन नसकेर उक्त अवधि नाघेको खण्डमा आवेदकले नयाँ मेडिकल रिपोर्ट बुझाउनुपर्ने प्रावधान रहको छ ।
यसअगाडि युएससीआईएसले भिसा संख्या खेर जान नदिन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई मेडिकल रिपोर्टका सन्दर्भमा आरएफई (रिक्वेष्ट फर इभिडेन्स) मागिएको भएमा यथाशीघ्र थप कागजात बुझाउन सुझाव दिएको थियो । मेडिकल रिपोर्ट मागिएका आवेदकलाई यस्तो रिपोर्ट रातारात वा प्राथमिक सेवामार्फत पठाउन सुझाव दिइएको हो ।
युएससीआईएसले भनेको छ – ‘यदि तपाई रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिनुभएको छ र तपाईलाई मेडिकल रिपोर्टका लागि आरएफई (रिक्वेष्ट फर इभिडेन्स) मागिएको छ भने यथाशीघ्र जवाफ पठाउनुहोला । ताकि हामीले तपाईको ग्रिनकार्ड आवेदनबारे छिटो निर्णय गर्न सकौं ।’
आर्थिक बर्षका लागि रोजगारमा आधारित भिसा संख्या खेर जान नदिन रोजगारमा आधारित ग्रिनकार्ड प्रकृया तीब्र पार्न चाहेको युएससीआईएसको भनाई छ ।
ग्रिनकार्ड आवेदन आई ४८५ का आवेदकहरुलाई ग्रिनकार्ड आवेदनका साथमा मेडिकल रिपोर्ट समेत एकसाथ पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । आई ४८५ आवेदनका साथमा मेडिकल रिपोर्ट पेश गरिएको खण्डमा युएससीआईएसले थप कागजात अर्थात् आरएफई माग्ने झन्झट नहुने र ग्रिनकार्ड आवेदनमा छिटो निर्णय हुने युएससीआईएसको भनाई छ ।
अक्टोबर १ देखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने नियम लागु भइसकेको छ । युएससीआईएसले मेडिकल रिपोर्ट फर्म आई ६९९ मा पनि अपडेट गरेको छ । आवेदकले मेडिकल परीक्षण अगाडि भ्याक्सिन अनुशार एउटा वा दुईवटा डोज पूरा गरेको हुनुपर्ने र त्यसको कागजात सिभिल सर्जनलाई उपलब्ध गराउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।
यो प्रावधान अमेरिकामा ग्रिनकार्ड आवेदन दिने र अमेरिकाबाहिर दूतावास तथा कन्सुलेटहरुमा आप्रवासी भिसाको आवेदन दिने सबैका सन्दर्भमा लागु गरिएको छ । तर भ्याक्सिन लगाउनका लागि उमेरले योग्य भएकाहरु र कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न स्वास्थ्यका हिसाबले पनि उपयुक्त रहेकाहरुका सन्दर्भमामात्र यो नियम लागु गरिएको छ ।
अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकी सरकारकाबाट आपतकालिन प्रयोगको अनुमति पाएका वा विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भ्याक्सिनहरु लगाएको प्रमाण मेडिकल रिपोर्टमा पेश गर्नुपर्छ । विना प्रमाण स्वघोषित भ्याक्सिन लगाएको बताउँदैमा त्यसलाई मान्यता दिइदैन ।
यदि आवेदकले पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने मेडिकल रिपोर्ट तयार गर्ने सिभिल सर्जन वा चिकित्सकलाई आवेदकको सहमतिमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउने अधिकार समेत दिइएको छ । यद्यपी मेडिकल परीक्षण अगाडि नै आवेदकले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाउनुपर्ने र भ्याक्सिन नलगाइकनै मेडिकल परीक्षणमा जानेको आवेदन प्रकृयामा ढिलाई हुने चेतावनी दिइएको छ ।
यदि आवेदक भ्याक्सिन लगाउन स्वीकृत गरिएभन्दा कम उमेरको भएको खण्डमा स्वत भ्याक्सिन नलगाए हुने छुट प्रदान गरिनेछ । तर यदि कोही व्यक्तिले धार्मिक वा नैतिक आधारमा भ्याक्सिन नलगाउने भएमा त्यस्ता आवेदकले युएससीआईएस समक्ष छुटका लागि आवेदन दिनुपर्नेछ । उक्त छुटका लागि गरिएको आग्रह स्वीकार गर्ने वा नगर्ने अधिकार युएससीआईएसमा रहनेछ ।
ग्रिनकार्डका लागि मेडिकल रिपोर्ट पेश गर्दा कोरोनाबिरुद्धको प्रतिरोधात्मक क्षमताको भने परीक्षण गर्नुनपर्ने सीडीसीको सुझाव रहेको छ । प्रतिरोधात्मक क्षमताको प्रमाण भएपनि वा विगतमा कोरोना संक्रमण भएको भएतापनि आवेदकले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्छ । अक्टोबर १ अगाडि नै मेडिकल रिपोर्ट पेश गरिसकेकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु हुँदेन ।
अमेरिकामा आप्रवासी भिसा वा ग्रिनकार्ड आवेदन दिंदा स्वास्थ्य परीक्षण र भ्याक्सिनको रेकर्ड उल्लेख भएको मेडिकल रिपोर्ट आई ६९३ पेश गर्न आवश्यक हुन्छ । सामान्यतया स्वास्थ्यको आधारमा अमेरिकाको आप्रवासी सुविधाका लागि आवेदक अयोग्य नरहेको प्रमाणका रुपमा मेडिकल रिपोर्ट पेश गरिन्छ ।