अमेरिकामा दम्पत्तिले अहिले आइबोण्ड किन्दा यसरी पाउनसक्छन् ४० हजार डलरसम्मको ७.१२% ब्याज


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

अमेरिकामा महँगी उच्च बिन्दुमा पुगेको बेलामा कतिपय लगानीकर्ताहरुको ध्यान जोखिममुक्त आई बोण्डतिर तानिएको छ । जोखिममुक्त आई बोण्ड किन्न पाउने सिमा अत्यन्तै कम भएपनि दम्पत्तिले उचित तरिका अपनाएको खण्डमा ४० हजारसम्मको आई बोण्ड किन्न सक्छन् ।

आई बोण्डलाई अमेरिकी सरकारले सहयोग गर्ने भएकाले यसको मूल्य गुम्ने सम्भावना हुँदैन । यसबाट दुईप्रकारका फाइदा हुन्छन्, एउटा निश्चित र अर्को परिवर्तनशील दर । निश्चितमा निकै कममात्र ब्याज आउँछ भने अहिले यो दर लगभग शुन्य छ । परिवर्तनशील ब्याजदर मूल्य सुचकांकका आधारमा हरेक ६ महिनामा परिवर्तन हुनेगर्छ ।

अहिलेका लगानीकर्ताहरुले सन् २०२२ को अप्रिलसम्म रकममा ७ दशमलव १२ प्रतिशतसम्म ब्याज पाउन सक्नेछन् । त्यसपछि मे महिनामा ब्याजदर परिवर्तन हुनसक्नेछ । आई बोण्डको नकारात्मक पक्ष के छ भने लगानीकर्ताहरुले एकबर्षका लागि उक्त रकम निकाल्न पाउँदैनन् । यदि पाँचबर्षभन्दा कम समयमा रकम निकालेको खण्डमा पछिल्लो तीनमहिनाको ब्याज तिर्नुपर्छ ।

अर्थात् आई बोण्डमा गरेको लगानीले रकम निकालेर हरेक महिनाको बिल तिर्न सम्भव हुँदैन । तर कम्तीमा ५ बर्षका लागि रकम सुरक्षित गर्न चाहने र उल्लेख्य ब्जाज प्राप्त गर्न चाहनेहरुले भने यसमा लगानी गर्न सक्नेछन् ।

आई बोण्ड किन्ने बार्षिक सिमाबन्दी १० हजारको मात्र रहेपनि यो हरेक क्यालेण्डर बर्षका रुपमा गणना हुने भएकाले अहिले डिसेम्बरभित्र १० हजार डलरको आईबोण्ड किन्नेहरुले आगामी जनवरी १ पछि अर्को १० हजारको आईबोण्ड किन्न सक्नेछन् ।

यसरी सन् २०२२ भित्र २० हजारसम्मको आईबोण्ड किन्न सकिनेछ भने दम्पत्तिले फरकफरक तरिकाले किनेमा ४९ हजार डलरसम्मको आईबोण्ड किन्न सकिनेछ । तर फरक फरक किन्दा एक अर्काको सहमालिक हुन भने सक्दैनन् ।

यदि विवाहित दम्पत्तिको फरक फरक व्यवसाय छ भने उनीहरुले व्यवसायका तर्फबाट पनि आई बोण्डमा लगानी गर्न सक्छन् । यही डिसेम्बर ३१ अगाडिसम्म १० हजार डलर र जनवरी १ पछि १० हजार डलर गरी व्यवसायका तर्फबाट २० हजार डलर आई बोण्डमा लगानी गर्न सक्नेछन् । एकजनाले व्यक्तिगत र व्यवसाय गरी ४० हजार डलर लगानी गर्दा यो तरिका अपनाउने दम्पत्तिले ८० हजार डलरसम्म पनि लगानी गर्न सक्नेछन् ।

कागजी बोण्ड किन्दा ५०, १००, २००, ५०० र १ हजार डलरका पाँचवटा दरमा किन्न सकिन्छ भने आईबोण्ड २५ डलरभन्दा माथि जतिको पनि किन्न सकिन्छ । ट्याक्स रिटर्नको ५ हजार डलरसम्म पेपर बोण्ड किन्न सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com