वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको नियम ल्याइदै
प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार
अमेरिकामा युएससीआईएसले वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम ल्याउने तयारी गरेको छ । अन्तिम नियम अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटमा पुनरावलोकनका लागि पेश गरिसकिएको छ भने उक्त पुनरावलोकनपछि प्रकाशन र लागु गरिनेछ । अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटसँग नियमको पुनरावलोकन गर्न ९० दिनको समय रहेको छ । तर त्योभन्दा अगाडि पनि पुनरावलोकन हुन सक्नेछ ।
अमेरिकी संसदले गतबर्षको अक्टोबरमा अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको थियो । तर युएससीआईएसले यसबारे नियम प्रकाशित गरेको थिएन ।
प्रकाशित हुने तयारीमा रहेको युएससीआइएसको नियमले निश्चित आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो निर्णय गराउन सक्ने युएसीआईएसको कार्यक्रमलाई स्थायी रुपमा थप गर्नेछ ।
ल्याइन लागिएको नयाँ नियम अनुशार रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि शीघ्र प्रकृया शुल्क २५ सय डलरसम्म बनाइनेछ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिइनेछ ।
त्यस्तै एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याउन लागिएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।
त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याउन लागिएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।
वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याउन लागिएको छ । वर्क परमिट आवेदनमा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइदैछ छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ ।
अहिले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क २५ सय डलर रहेको छ । यो शुल्क गतबर्षको अक्टोबर १९ देखि बढाइएको हो । त्यस्तै कामदार भिसाका आवेदन आई १२९ का लागि पनि शीघ्र प्रकृया शुल्क २५ सय डलर कायम रहेको छ । अतिरिक्त शुल्क तिरेपछि यी आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिन्छ ।