एसाइलम पेन्डिङ रहेको अवस्थामा ग्रिनकार्ड हुनेसँग विवाह गरेर ग्रिनकार्ड पाउन सक्छु ?
प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार
मेरो एसाइलम पेन्डिङ अवस्थामा रहेको छ, मैले ग्रिनकार्ड भएको व्यक्तिसँग विवाह गरेमा ग्रिनकार्ड पाउन सक्छु कि सक्दिन ?
यदि तपाईको एसाइलम युएससीआएसमा नै पेन्डिङ अवस्थामा रहेको छ र तपाई एसाइलम आवेदन दिनुभन्दा अगाडि अद्यावधिक भिसामा हुनुहुन्थ्यो भने तपाईले ग्रिनकार्ड होल्डरसँग विवाह गर्न सक्नुहुन्छ । र ग्रिनकार्ड पाउन सक्नुहुन्छ । अहिले ग्रिनकार्डवाहकसँग विवाह गरेपछि भिसा करेन्ट रहेकाले तुरुन्तै ग्रिनकार्ड आवेदन आई ४८५ दिन सकिन्छ ।
यदि तपाई विद्यार्थी वा अरु कुनै भिसामा हुँदाहुँदै टीपीएस लिएर ग्रिनकार्ड होल्डरसँग विवाह गर्नुभएको खण्डमा पनि यो विधिबाट ग्रिनकार्ड पाउन सक्नुहुन्छ । तर याद राख्नुहोस्, विवाह भैसकेपछि आई ४८५ फाइल नगर्दासम्म तपाईको उपस्थीति गैरकानुनी हुनुहुँदैन ।
तर तपाईको केस अदालतमा गइसकेको छ भने अमेरिकामा ग्रिनकार्डवाहकसँग विवाह गरेर ग्रिनकार्ड पाउन गाह्रो छ ।
यदि तपाईले युएससीआईएसमा एसाइलम आवेदन दिनु अगाडि नै तपाईको अमेरिकामा गैरकानुनी उपस्थीति थियो भने पनि तपाईले एसाइलम पेन्डिङ रहेको अवस्थामा अमेरिकामा ग्रिनकार्ड होल्डरसँग विवाह गरेर ग्रिनकार्ड प्राप्त गर्न सक्नुहुनेछैन ।
(यो प्रश्नको जवाफ न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको हो । यदि तपाईले उहाँलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला । )