कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिने दर सबैभन्दा तीब्र न्युयोर्क र न्युजर्सीमा


प्रकाशित मिति : पुस १, २०७८ बिहीबार

कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिने दर सबैभन्दा तीब्र न्युयोर्क र न्युजर्सीमा रहेको अमेरिकन सीडीसीले जनाएको छ । अमेरिकाका अन्य क्षेत्रको तुलनात्मक अध्ययन गर्दा सबैभन्दा बढी ओमिक्रोन भेरियन्ट फैलिने दर न्युयोर्कमा बढी रहेको सीडीसीको तथ्यांकले देखाएको छ ।

देशब्यापी रुपमा कोरोना संक्रमण पुष्टी हुनेहरुमा ३ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेपनि न्युयोर्क र न्युजर्सीमा भने संक्रमितहरुमध्ये १३ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । जुन राष्ट्रिय औषतको तुलनामा झण्डै ४ गुणा बढी हो ।

यसैबीच फाइजरले कोरोनाबिरुद्धको खानेचक्की उच्च प्रभावकारी रहेको जनाएको छ । लक्षण देखिएको तीनदिनभित्र यो चक्की सेवन गरेको खण्डमा भ्याक्सिन नलगाएका बयस्कहरुमा समेत अस्पताल भर्ना हुन र मृत्यु हुनबाट जोगाउन ८९ प्रतिशत प्रभावकारी रहेको फाइजरले जनाएको छ । यो चक्की पाँचदिनसम्म सेवन गरेको खण्डमा अधिकांशलाई अस्पताल भर्ना हुन नपर्ने देखिएको छ ।

फाइजरको यो चक्की अमेरिकामा एफडीएबाट स्वीकृतिको प्रतिक्षामा रहेको छ । यसै साता फाइजरले सार्वजनिक गरेको अर्को तथ्यांकमा भ्याक्सिन पनि ओमिक्रोन सम्बन्धित अस्पताल भर्ना हुने दर रोक्न ७० प्रतिशत प्रभावकारी रहेको देखिएको छ । मोडेर्नाको थप प्रभावकारिताबारेका तथ्यांकहरु आगामी साताहरुमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कोरोनाबिरुद्धको खाने चक्कीको उच्च प्रभाकारिता पुष्टी भएपछि उत्पादक कम्पनी फाइजरले नोभेम्बरमा आपतकालिन प्रयोगको अनुमतिका लागि अमेरिकाको एफडीएमक्ष आवेदन दिएको थियो । यदि एफडीएबाट स्वीकृति प्राप्त भएमा यो चक्की कोरोना संक्रमण भएकाहरुले घरमै मुखबाट यो चक्की सेवन गरेर सिकिस्त हुनबाट बच्न सक्नेछन् ।

क्वीनिकल परीक्षणका क्रममा उच्च जोखिममा रहेका संक्रमितहरुलाई यो चक्की दिंदा अस्पताल भर्ना हुने र ज्यान गुमाउने दरमा ८९ प्रतिशत कमी भएको थियो । संक्रमितहरुलाई लक्षण देखिएको तीनदिनभित्र यो चक्की खान दिइएको थियो ।

प्याक्सलोभिड नामको यो चक्की एचआईभी संक्रमितहरुलाई रिटोनाभिरसँगै दिइएको थियो । स्वीकृत भएमा कोरोनाबिरुद्धको १५० मिलिग्रामको यो चक्की दिनको दुईपटक खुवाउन सकिनेछ ।

फाइजरले कोरोनाबिरुद्धको चक्की गरिव देशहरुमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने सम्झौता गरिसकोके छ । कम्पनीले घोषणा गरेको सम्झौता अनुशार कोभिड १९ बिरुद्धको उपचारमा धेरैको पहुच त कायम हुनेछ तर सम्झौतामा कोरोनाको चपेटमा परेका कैयन देशलाई भने समावेश गरिएको छैन । सुचीमा नेपाल भने समावेश रहेको छ । अर्थात् नेपालले कोरोनाबिरुद्धको फाइजरको चक्की सस्तो मूल्यमा प्राप्त गर्न सक्नेछ ।

फाइजरले कोरोनाबिरुद्धको चक्की ९५ देशमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने भएको छ, जसले विश्वको जनसंख्याको झण्डै आधा जनसंख्या समेट्नेछ । यस अगाडि कोरोनाबिरुद्धको चक्की उत्पादन गरिरहेको मेरेकले पनि यस्तै सम्झौता गरेको थियो ।

सहमति अनुशार फाइजरले राष्ट्रसंघको सहयोग प्राप्त गैरनाफामुलक संस्था मेडिसिन पेटेन्ट पुललाई चक्कीको रोयल्टी फ्रि लाइसेन्स दिनेछ । उनीहरुले औषधी उत्पादनका लागि फाइजरको फर्मुला प्राप्त गर्नेछन् । र, ९५ देशहरुमा प्रयोगका लागि सस्तोमा बेच्न सक्नेछन् । अधिकांश देशहरु एसिया र अफ्रिकाका रहेका छन् । मेरेकले भने १०५ देशलाई सस्तोमा चक्की उपलब्ध गराउन यस्तो सम्झौता गरेको हो ।

मेरेकको सम्झौतामा जस्तै कोरोनाबाट अत्यन्तै प्रभावित ब्राजिल, क्युबा, इराक, लिबिया, जमैका लगायतलाई समावेश गरिएको छैन । यी देशहरुले सिधै फाइजरबाट महँगोमा चक्की किन्नुपर्नेछ । चीन र रसियालाई पनि फाइजर र मेरेक दुबैले सम्झौतामा छुटाएका छन् ।

 

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com