म्याद सकिएका पासपोर्टमा अमेरिकनहरु स्वदेश फर्कनसक्ने म्याद ३ महिना थप


प्रकाशित मिति : पुस ७, २०७८ बुधबार

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले विदेशमा रहेका अमेरिकनहरु एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने म्याद थप गरेको छ । यसअगाडि उक्त म्याद डिसेम्बर ३१ सम्ममात्र रहेकोमा अब तीनमहिना थपेर सन् २०२२ को मार्च ३१ सम्म बनाइएको छ ।

विदेशमा रहेका अमेरिकनहरु सन् २०२० को जनवरी १ पछि एक्सपायर भएको पासपोर्टमा आगामी मार्च ३१ सम्म अमेरिका आउनसक्ने भएका छन् । कोरोना महामारीका कारण विदेशमा नै अड्कीएका अमेरिकनहरुलाई पासपोर्ट नविकरणमा समय लाग्नसक्ने र स्वदेश फर्कन समस्या नहोस् भनेर उनीहरुलाई अमेरिका आउन अनुमति दिइएको हो ।

विदेशमा रहेका अमेरिकनहरुको सुरक्षा र सुविधा अमेरिकी विदेशमन्त्रालयको प्राथमिकता रहेको तथा अहिले महामारीका कारण विदेशबाट पासपोर्ट नविकरणका लागि अप्वाइन्टमेन्टहरुमा चर्को ब्याकलग रहेकाले विदेशमन्त्रालयले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग मिलेर विदेशमा रहेका अमेरिकनलाई स्वदेश फर्कन सहज वातावरण बनाउन काम गरिरहेको जनाएको छ । अमेरिकामा आइसकेपछि अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीले सन् २०२० को जनवरी १ पछि म्याद सकिएका पासपोर्टमा पनि इन्ट्री दिने भएको छ ।

अमेरिकाबाट बाहिर जाँदा भने म्यादसकिएका पासपोर्ट प्रयोग गर्न नसकिने सीबीपीले स्पष्ट पारेको छ । त्यस्तै म्याद सकिएका पासपोर्ट अमेरिका आउने क्रममा विदेशी मुलुकका एयरपोर्टमा ट्रान्जिटको अवस्थामा बाहेक एक मुलुकबाट अर्को मुलुकमा जानसमेत प्रयोग गर्न नसकिने स्पष्ट पारिएको छ ।

म्याद सकिएका पासपोर्टमा अमेरिका फर्कन उक्त पासपोर्ट बयस्कका सन्दर्भमा १० बर्षको म्याद सहित जारी गरिएको हुनुपर्नेछ भने पासपोर्ट जारी हुँदा १५ बर्ष वा त्यो भन्दा कम उमेरका रहेकाका सन्दर्भमा ५ बर्षको म्यादसहित जारी गरिएको हुनुपर्नेछ । म्याद सकिएको पासपोर्ट क्षतिग्रस्त पनि हुनुहुँदैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com