सन् २०२१ को बेरोजगारी विमा रकममा ट्याक्स छुट नदिइने, विथहोल्ड नगरेकाले तिर्नुपर्ने हुनसक्ने


प्रकाशित मिति : पुस २४, २०७८ शनिबार

अमेरिकाको आन्तरिक राजस्व सेवा आईआरएसले आगामी केही दिनमा नै कागजी र विद्युतीय ट्याक्स फाइल स्वीकार्न सुरु गर्ने भएको छ । यो बर्ष बेरोजगारी विमा रकम कसरी ट्याक्समा रिपोर्ट गर्ने ? ढिलो प्राप्त भएको सन् २०२० को बेरोजगारी विमाको रकम कसरी रिपोर्ट गर्ने ? लगायतका कैयन प्रश्नहरु ट्याक्स फाइल गर्ने व्यक्तिमा मनमा उब्जिएका छन् ।

सन् २०२१ को बेरोजगारी विमा रकममा अमेरिकी सरकारको आईआरएसले ट्याक्स छुट नदिने भएको छ । गतबर्ष सन् २०२० को ट्याक्स फाइल गर्दा भने आईआरएसले १० हजार २ सय डलरसम्मको बेरोजगारी विमा रकममा ट्याक्स छुट प्रदान गरेको थियो ।

बेरोजगारी विमा रकम लिंदा नै ट्याक्स विथहोल्ड गरेका अर्थात् ट्याक्स कटाएकाहरुले १० हजार २ सय सम्मको रकमको विथहोल्ड गरेको ट्याक्स रकम फिर्ता पाएका थिए भने विथहोल्ड नगरेकाहरुले ट्याक्स तिर्नु परेको थिएन । तर यसपटक ट्याक्स फाइल गर्दा भने यो सुविधा प्राप्त नहुने भएको छ ।

ट्याक्स विथहोल्ड नगरिकनै सन् २०२१ मा बेरोजगारी विमाको पूरै रकम लिएकाहरुले आगामी केही सातापछि ट्याक्स फाइल गर्दा थप रकम बुझाउनुपर्ने हुनसक्छ । त्यस्तै विथहोल्ड गरेर रकम लिएकाहरुको भने उक्त रकमबाटै ट्याक्स तिर्नुपर्ने रकम घटाइनेछ ।

कतिपय करदाताहरुले सन् २०२० को बेरोजगारी विमाको रकम तत्काल प्राप्त नगरी सन् २०२१ मा ढिलो गरेर प्राप्त गरेकाले उक्त रकम गतबर्षको ट्याक्समा समावेश गर्न पाएका छैनन् । उनीहरुले भने सन् २०२० मा पाउनुपर्ने तर ढिलो गरी २०२१ मा पाएको बेरोजगारी विमाको उक्त रकम आगामी ट्याक्स फाइल गर्दा उल्लेख गर्नुपर्नेछ । यसो गर्दा उनीहरुले सन् २०२० मा पाउनुपर्ने तर ढिलो पाएको रकममा ट्याक्स छुट पाउनेछन् ।

आगामी ट्याक्स फाइल गर्दा उक्त रकम सन् २०२० को बेरोजगारी विमाको रकम भएको उल्लेख गर्नुपर्छ । डिपार्टमेन्ट अफ लेबरबाट प्राप्त १०९९ जी का आधारमा यो रकम ट्याक्समा उल्लेख गर्नुपर्छ । १०९९ जीको बक्स १ मा उल्लेख भएको रकम स्केजुअल १ को ७ नम्बर लाइनमा उल्लेख गर्नुपर्छ । याद गर्नुहोला, तपाईले ट्याक्स फाइल गर्दा स्केजुअल १ पनि भर्नुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com