न्युयोर्क सिटीमा ग्रिनकार्ड र वर्क परमिटवाकहलाई मताधिकार दिने कानूनमा मेयर आडम्सको समर्थन


प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

न्युयोर्क सिटीमा ग्रिनकार्ड र वर्क परमिटवाहक लगायतका गैर नागरिकलाई पनि मताधिकार प्रदान गर्नेगरी हालै पारित बिलमा मेयर एरिक आडम्सले समर्थन जनाएका छन् । सुरुमा यो बिलबारे केही प्रश्नहरु उठाएका आडम्सले मेयरको पदभार ग्रहण गरेकै साता यो प्रावधानको समर्थन गरेका हुन् ।

सुरुमा यसका केही पक्षमाथि आफ्नो चासो रहेपनि आफूले सरकारमा रहेका सहकर्मीहरुसँग यसबारे गरेको सम्बादले ती चासोहरुको निवारण गरेको तथा न्युयोर्क सिटी निवासी लाखौंलाई प्रजातान्त्रिक प्रकृयामा ल्याउन काम गर्ने उनले बताएका छन् । आडम्सले ३० दिनभन्दा बढी न्युयोर्क सिटीमा बसोबास गरेका गैर नागरिकहरु मतदानका लागि योग्य हुने प्रावधानबारे चासो व्यक्त गरेका थिए ।

न्युयोर्क सिटी काउन्सिलमा ग्रिनकार्ड र वर्क परिमट हुनेहरुलाई समेत मताधिकार दिने बिल डिसेम्बरमा बहुमतले पारित भएको थियो । जस अनुशार न्युयोर्क सिटीमा रहेका झण्डै ८ लाख गैर नागरिकहरु समेत स्थानीय चुनावमा मतदानका लागि योग्य हुनेछन् ।

३३ जना काउन्सिल सदस्यहरुले बिलका पक्षमा मतदान गरेका थिए । दुईजना अनुपस्थीत रहेको र बिलका विपक्षमा १४ मत खसेको थियो । न्युयोर्क सिटीमा कम्तीमा ३० दिन बसोबास गरेका ग्रिनकार्डवाहक, वर्क परमिट हुनेहरु र डाकाले समेटिएकाहरुले मताधिकार पाउने प्रावधान बिलमा रहेको छ ।

न्युयोर्क सिटीको प्राइमरी चुनावमा मतदानपछि नेपाल मुलका एक मतदाताले पोष्ट गरेको तस्वीर । तस्वीर: सुनिल महतको फेसबुकबाट

न्युयोर्क सिटीमा मेयर, सिटी काउन्सिल सदस्य लगायतका पदहरुमा उनीहरुले मतदान गर्न पाउनेछन् । तर राज्य र संघीय स्तरका चुनावमा भने मतदान गर्न पाउनेछैनन् ।

न्युयोर्क सिटीभित्र बस्ने ठूलो संख्यामा नेपाली ग्रिनकार्डवाहकसमेत मताधिकारका लागि योग्य भएका छन् । नेपाली भाषी समुदाय न्युयोर्कमा उदयमान अल्पसंख्यक भएपनि झण्डै ५० हजार न्युयोर्क बासी नेपालीहरुमध्ये झण्डै ५ प्रतिशतमा मात्र मताधिकार रहेको छ । अब बहुसंख्यक नेपालीहरु प्रजातान्त्रिक प्रकृयामा सहभागी हुन योग्य भएका छन् ।

न्युयोर्क सिटीमा गैर नागरिकलाई समेत मताधिकार प्राप्त हुनुपर्ने विषयमा लामोसमयदेखि वकालत हुँदै आएको थियो । सिटी काउन्सिलम्यान यदानिस रोड्रिगेजले यो बिलको स्पोन्सर गरेका थिए । रोड्रिगेज डोमेनिक रिपब्लिकबाट अमेरिका आएका आप्रवासी हुन् ।

रोड्रिगेज आफै सन् १९८३ मा ग्रिनकार्डसहित अमेरिका आएका थिए भने सन् २००० मा अमेरिकी नागरिकता लिएका थिए । यो बीचमा उनले डिसवासरदेखि ट्याक्सी चालकसम्मको काम गरेर सिटीलाई ट्याक्स तिरेका थिए तर चुनावी प्रकृयामा सहभागी हुन पाएका थिएनन् ।

यसप्रकारको विधेयक सिटी काउन्सिलमा ल्याइएको यो नै पहिलोपटक भने होइन । सन् २००९ र सन् २०१३ मा पनि यो बिल प्रस्ताव गरिएको थियो । तर बिल पारित भएन । अब भने सन् २०२२ मा हुने स्थानीय निर्वाचनमा ग्रिनकार्ड वाहक र वर्क परमिट हुनेहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com