एनआरएनको संख्या घटाउनुपर्छ
प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार
श्री पराजुली
एनआरएनका एजेण्डा सुरुदेखि नै आकर्षक आए । तर प्राय एजेण्डाहरु वितरणमुखी एजेण्डाहरु भए । एनआरएनएले नेपालको विकाशको साझेदारका रुपमा आफूलाई घोषणा गरेको छ । यो महत्वपूर्ण कुरा हो । यो घोषणासँगै धेरै कुराहरु अन्तरनिहित छ । नेपालको विकाशको सच्चा साझेदार भनेको नेपालको मेचीदेखि महाकाली सम्मका हरेक विकाशका पूर्वाधारहरुमा एनआरएनको कस्तो भूमिका रह्यो र रहनुपर्छ भन्ने मुख्य कुरा हो । तर एनआरएनको नारा प्राय वितरणमुखी रह्यो ।
भूकम्प पीडितका लागि एनआरएनएले सहयोग गर्यो । भूकम्पपीडितका लागि एनआरएनए एकहजार घर बनाउने प्रकृयामा छ । त्यो राम्रो कुरा हो । तर भूकम्पपीडितलाई सहयोग गर्नु नौलो कुरा होइन । भूकम्पपीडित भन्दा अझ धेरै पीडित नेपालीहरु छन् । उनीहरुले औषधी, विकाश, पानी , स्वास्थ्य शिक्षाको समस्या भोगिरहेका छन् । यसो भनिरहँदा नेपाल सरकारले गर्न नसकेका काम एनआरएनले गर्न सक्छ ? भन्ने प्रश्न उठ्न सक्छ । तर सच्चा साझेदारका रुपमा आफुलाई घोषणा गरिसकेपछि एनआरएनले आफूलाई त्यहाँ पुर्याउन सक्नुपर्छ । त्यसको निम्ति मार्गचित्र कोर्नुपर्छ । त्यो कोर्न एनआरएनले सकेको छैन ।
नेपाली नागरिकताको निरन्तरताको विषयमा नेपालका राजनीतिक दलहरु विरोधी थिएनन्, सबै सकारात्मक थिए । एनआरएनले पहुच पुर्याएको थियो, आफ्ना कुराहरु राखेको थियो । तर त्यसका लागि ठूलो संघर्ष गर्नु परेन । सहज रुपमा नै प्राप्त भयो । एनआरएनले नेताहरुसँग भेट्ने, प्रस्तावहरु लैजाने लगायतका काम गर्यो । यसैलाई एनआरएनको ठूलो उपलब्धी मानेर बस्नुपर्ने अवस्था छैन । एकाध बाहेक नेपालका प्राय सबेै राजनीतिक दलहरु, सभासद्हरु यसको पक्षमा नै थिए । दिनुपर्छ भन्ने मान्यतामा थिए, त्यसैले प्राप्त भएको हो ।
एनआरएनले आफूले बसेको मुलुकका प्रवासी नेपालीहरुप्रतिको दृष्टिकोण स्पष्ट पार्नुपर्छ । नेपालमा बस्ने नेपालीप्रति एनआरएनको दृष्टिकोण पनि स्पष्ट पार्नुपर्छ । नेपालमा रहेका नेपालीका लागि एनआरएनले कुनै घटना भएको बेलामा रकम दिएर वितरणमुखी कार्यक्रम गरेरमात्र एनआरएन राष्ट्र निर्माणमा सच्चा साझेदार हुन सक्दैन । यस्ता कार्यक्रम क्षणिक मात्र हुन् । यो पपुलिष्ट कार्यक्रम मात्र हो । दीर्घकालिन होइन । मेरो दृष्टिकोणमा अहिले विश्वका ७४ देशमा फैलिएको एनआरएनले एक एनसीसी एक जिल्लाको अवधारणा अनुशार नेपालमा काम गर्नुपर्छ । यसो भन्दैमा एनआरएनले सबै जिल्लाका समस्याहरु तुरुन्त समाधान गर्नसक्छ भन्ने होइन । तर सन् २०२० भन्दा अगाडि यो कार्यक्रम तर्जुमा गर्नुपर्छ । नेपालका जिल्ला जिल्लामा एनआरएन पुग्नुपर्छ । यो चारबर्षमा एनसीसीहरुले आफ्नो जिम्मामा परेको जिल्लाका समस्याहरु पहिचान गर्ने विषयमा नेपाल सरकार, त्यहाँका राजनीतिक दलहरु र स्थानीय निकायसँग समन्वय गर्नुपर्छ । त्यहाँ प्राथमिकताका आधारमा के के गर्न सकिन्छ भन्ने योजना तर्जुमा गर्नुपर्छ । र चारबर्षपछि तर्जुमा गरिएका योजनाहरुलाई कार्यान्वयन गर्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा एनआरएनले विदेशमा नेपालीको संख्या घटाउनेमा पहल गर्नुपर्छ । विदेशमा आर्जेको सिप नेपाल भित्राउनुपर्छ । विदेशमा दुखकष्ट स्वरुप काम गरेका नेपालीलाई नेपालमा रोजगार सृजना गरेर उनीहरुलाई नेपाल फर्काउनुपर्छ । त्यसका लागि चारबर्षमा कुन देशमा कुन ठाउका कति मानिस कस्तो काम गरिरहेका छन् भन्नेबारे नेपाल सरकार र दलसँग सहकार्य गरेर डाटा निकाल्नुपर्छ । नेपालमै बसेर कमाउने भन्दा पनि कम आर्जन गर्नेहरुलाई स्वदेशमा स्वरोजगार सृजना गरेर फिर्ता गर्ने काम एनआरएनले वैज्ञानिक तरिकाले गर्नुपर्छ ।
एनसीसीहरुले सदस्यता वितरणका क्रममा वैज्ञानिक विधि अपनाउनुपर्छ । सदस्यहरुले यो संस्था हाम्रो हो भनेर स्वामित्व अनुभव गर्न सक्नुपर्छ । अहिलेसम्म सदस्यहरुले स्वामित्व ग्रहण गर्न सकेका छैनन् । अमेरिकामा पनि त्यो त्रुटी भयो । यो संस्था मेरो हो भनेर स्वेच्छाले सदस्यता प्राप्त नगरेसम्म कुनै अर्थ रहन्न । सदस्यता लिएपछि के फाइदा हुन्छ भन्नेबारे वातावरण बनाउनुपर्छ । त्यसको योजना मसँग छ । क्षेत्रीय सम्मेलनको आयोजक समितिलाई पनि यही सारबस्तु समेटेर मैले प्रस्ताब बुझाएको छु ।
पराजुली एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष हुन् ।