अमेरिका भ्रमणमा आउँदा कति दिनको लागि कति औषधि ल्याउने? कसरी ल्याउने?


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

अमेरिका भ्रमणमा आउँदा आफूलाई आवश्यक कति औषधि ल्याउने भन्नेबारे कतिपयमा अन्यौल देखिन्छ । कैयन औषधिहरु अमेरिकामा डाक्टरको सिफारिसविना काउन्टरमा गएर सिधा किन्न मिल्दैन । अमेरिकामा ब्लड प्रेसर, क्लोस्टोरेल लगायतका औषधीहरु यत्तिकै काउन्टरमा किन्न मिल्दैन । साथै विदेशी डाक्टरको सिफारिसबाट पनि किन्न मिल्दैन । कतिपय डाक्टरहरुले विना इन्सुरेन्स अप्वाइन्टमेन्ट नदिने भएकाले इन्सुरेन्स विनाका भ्रमणकर्ताहरु अन्यौलमा पर्ने गरेका छन् ।

अमेरिका आउँदा तपाईले आफूलाई आवश्यक पर्ने औषधि ल्याउनसक्ने सीबीपीले स्पष्ट पारेको छ । तर तपाईले चाहिनेभन्दा बढी वा कम औषधि नल्याएर ठीक्कमात्र ल्याउन सुझाव दिइएको छ । सामान्यतया भिजिटर भिसामा आउनेहरुले ९० दिनभन्दा लामो समयका लागि औषधि ल्याउनुहुँदैन । ९० दिनभन्दा बढी समय औषधी आवश्यक परेमा डाक्टरको सिफारिस, भिसा र पासपोर्टको कपी तथा औषधि किन आवश्यक छ भन्नेबारेको डाक्टरको पत्रसहित कुरियरबाट पनि औषधी मगाउन सकिने एफडीएले जनाएको छ ।

रोहिप्नोल, जीएचबी, फेन फेन जस्ता औषधीहरु अमेरिका ल्याउन पाइदैन । यदि कसैले ल्याउन खोजेमा दण्ड जरिवानासमेत हुनसक्नेछ । नशा लाग्ने प्रकारका केही खोकीका औषधि, स्लीपिङ ट्याबलेट वा उत्तेजक औषधिहरु ल्याउनुपरेमा उपयुक्त सीबीपी अधिकारीलाई यसबारे बताउनुपर्छ । त्यस्ता औषधिहरु ओरिजिनल भाडोमा नै ल्याउनुपर्छ, अर्कै भाडोमा खन्याएर ल्याउनु हुँदैन । व्यक्तिगत प्रयोजनका लागिमात्र ल्याउनुपर्छ भने सकभर डाक्टरको सिफारिस पनि बोकेर ल्याउनुपर्छ ।

अमेरिकामा बस्ने व्यक्तिले अमेरिकामा स्वीकृतिप्राप्त डाक्टरको सिफारिस विना औषधी ल्याउँदा ५० डोजभन्दा धेरै नल्याउन सीबीपीले सुझाव दिएको छ । तर अमेरिकामा स्वीकृतिप्राप्त डाक्टरको सिफारिस भएको खण्डमा भने त्योभन्दा बढीपनि ल्याउन सकिन्छ । त्यस्तै भ्रमणमा आउनेले अँग्रेजी भाषामा लेखिएको डाक्टरको सिफारिस बोक्नुपर्छ । अमेरिकामा एफडीएबाट स्वीकृत नभएका कतिपय औषधीहरु विदेशी डाक्टरहरुले सिफारिस गरेको भएतापनि अमेरिकामा ल्याउन नहुने सीबीपीको भनाई छ ।

अमेरिकाबाहिर यात्रा गर्दा औषधि लैजानुपरेमा

औषधीहरु कानुनी भए न नभएकोबारे प्रत्येक देशको आआफ्नै दिशानिर्देशहरू छन् । अमेरिकामा सामान्यतया तोकिएको वा काउन्टरमा उपलब्ध हुने औषधिहरूलाई कतिपय देशहरूमा इजाजत छैन ।

उदाहरणका लागि जापानमा केही इनहेलरहरू र केही एलर्जी र साइनस औषधिहरू अवैध छन्। साथै यूएईमा कडा लागूऔषध कानून रहेको छ जसका कारण औषधी लिएर गएका कैयन यात्रु जेलमा पुगेका छन् ।

त्यसैले नियमहरू देशअनुसार फरक हुने भएकाले अमेरिकाबाहिर औषधिसहित जाँदै हुनुहुन्छ भने त्यो देशको नियम थाहा पाउनु आवश्यक हुन्छ । किनभने तपाईंले भ्रमण गरिरहनुभएको देशको कानुन उल्लङ्घन गर्नुभयो भने त्यहाँ गम्भीर परिणामहरू हुन सक्छन्। तपाईंको औषधि जफत हुँदा तपाईंको उपचारमा नोक्सान पुग्नसक्छ । लागूपदार्थको तस्करीको आरोपमा जेल सजाय सहित कडा सजायसम्म हुनसक्छ ।

कुन देशको औषधी नियम के छ भन्नेबारे यहाँ हेर्न सक्नुहुनेछ ।

तपाईंको गन्तव्यमा तपाईले औषधिहरू किन्नसक्ने योजना नबनाउनुहोला । तपाईले प्रयोग गर्ने औषधिहरु त्यहाँ उपलब्ध नहुन सक्छन् । उपलब्ध भएतापनि अमेरिकी गुणस्तर मापदण्डहरू पूरा नगरेको हुन सक्छन्। धेरै विकासोन्मुख देशहरूमा नक्कली औषधिहरूको ठूलो समस्या छ ।

तर तपाई ती देशमा जानुभन्दा अगाडि कति औषधी लैजान मिल्छ भन्नेबारे बुझ्नुपर्छ । सामान्यतया कतिपय देशले ३० दिनसम्मको डोजमात्र लैजान अनुमति दिन्छन् भने डाक्टरको सिफारिसपत्र समेत बोकेको हुनुपर्छ । यदि तपाइको गन्तव्यमा तपाइको औषधि प्रतिबन्धित छ भने स्वास्थ्य सेवा प्रदायकसँग वैकल्पिक औषधिबारे सल्लाह लिनुपर्छ ।

तपाईले नजिकको अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न सक्नुहुनेछ । उनीहरुले तपाईंलाई भरपर्दो, गुणस्तरीय औषधिहरू फेला पार्न मद्दत गर्न सक्ने डाक्टरहरू र फार्मेसीहरूसँग जोड्न सक्छन् । इजाजतप्राप्त फार्मेसीहरूबाट मात्र औषधिहरू किन्नुपर्छ र रसिद प्राप्त गर्नुपर्छ । खुल्ला बजारबाट औषधि किन्नु हुँदैन ।औषधिमा तपाईले लिनुभएको जस्तै सक्रिय पदार्थ भए नभएकोबारे फार्मासिस्टलाई सोध्न सकिन्छ ।

औषधी बोक्दा सकभर लगेजमा नभई ह्याण्डक्यारीमा बोक्न सुझाव दिइएको छ । किनभने कहिलेकाँही लगेज ढिलो हुँदा वा हराउँदा तपाईले समयमै औषधि खान नपाएर स्वास्थ्य समस्या हुनसक्छ । पूरै यात्रा अवधिलाई पुग्नेगरी र थोरै बढी औषधी बोक्नुपर्छ । ओरिजिनल प्याकमा औषधी लैजानुपर्छ भने डाक्टरको सिफारिस पनि बोक्नुपर्छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com