न्युयोर्क सिटीमा कोरोना संक्रमण ८२ प्रतिशतले कम, संक्रमित अधिकांश भ्याक्सिन नलगाउनेहरु


प्रकाशित मिति : माघ २३, २०७८ आईतबार

नयाँ बर्षको सेरोफेरोमा कोरोना संक्रमणबाट आक्रान्त भएको न्युयोर्क सिटीमा कोरोना संक्रमण दरमा उल्लेख्य रुपमा कमी आएको छ । जनवरी १७ को संक्रमणदरसँग तुलना गर्दा न्युयोर्क सिटीमा फरबरी १ मा संक्रमणदरमा ६८ दशमलव २ प्रतिशतले कमी आएको छ भने नयाँ कोरोना संक्रमणका केसहरुमा १५ दिनको अन्तरमा ८२ प्रतिशतले कमी आएको छ ।

जनवरी १७ मा नयाँ संक्रमण पुष्टी हुनेहरुको संख्या १० हजार ७ सय ४० रहेकोमा फरबरी १ मा नयाँ संक्रमितको संख्या १९६९ कायम भएको छ । फरबरी १ मा संक्रमणदर हरेक १ लाखमा २२३ रहेको छ । जनवरी १७ मा यो दर निकै उच्च अर्थात् हरेक एकलाखमा ११८४ रहेको थियो । यो दरमा ८१ प्रतिशत गिरावट आएको छ ।

न्युयोर्क सिटीका ६ वटा समुदायमा मात्र साप्ताहिक कोरोना संक्रमणदर १० प्रतिशत वा त्योभन्दा माथि रहेको छ । एकसाता अगाडिमात्र न्युयोर्क सिटीका ५३ वटा समुदायमा संक्रमणदर १० प्रतिशत वा त्योभन्दा माथि रहेको थियो । क्वीन्सका फ्लसिङ, मुरे हिल र क्वीन्सबोरो हिलमा संक्रमणदर १२ प्रतिशतको हाराहारीमा रहको छ ।

भ्याक्सिन नलगाएकाहरुमा संक्रमणदर उच्च रहेको छ । जनवरी १५ मा भ्याक्सिन नलगाएकाहरुमा हरेक एकलाखमा ७ हजार ४ सय ३ जनामा संक्रमण देखिएको थियो भने भ्याक्सिन लगाएकाहरुमा हरेक एकलाखमा ६२५ जनामा संक्रमण देखिएको थियो । जनवरी २२ मा भ्याक्सिन नलगाएका हरेक एकलाखमा २२ सय ९३ जनामा संक्रमण देखिएको थियो भने भ्याक्सिन लगाएका हरेक एकलाखमा ४६० जनामा संक्रमण देखिएको थियो । भ्याक्सिन लगाएकाहरुमा सिकिस्त हुने र अस्पताल भर्ना हुने दर पनि निकै कम छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com