अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर कृत्रिम गर्भधारण गराउने डाक्टरको लाइसेन्स खारेज
प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार
अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर २ जनाको गर्भधारण गराउने डाक्टरको लाइसेन्स खारेज गरिएको छ । कृत्रिम गर्भाधान प्रकृयामा आफ्नै शुक्रकिट प्रयोग गरेका भर्मोन्टका डाक्टर जोन कोट्स तृतीयको लाइसेन्स स्थायीरुपमा नै खारेज गरिएको हो ।
कोट्सले सन् १९७० को दशकमा भर्मोन्टमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रुपमा अभ्यास गरेका थिए । उनले थाहै नदिई आफ्नो शुक्रकिट दिएका दुईजना महिलाले मुद्दा हालेपछि यो रहस्य खुलेको हो ।
सन् १९७७ मा गरिएको कृत्रिम गर्भाधानका क्रममा आफ्नी छोरीका पिता ती डाक्टर रहेको दावी गर्दै फ्लोरिडाको एउटा जोडीले मुद्दा हालेको थियो । त्यस्तै सन् १९७८ मा कृत्रिम गर्भाधानका क्रममा आफनै शुक्रकिट दिएको दावी गर्दै क्लोराडोकी एकजना महिलाले पनि मुद्दा दायर गरेकी थिइन् ।
अज्ञात मेडिकल विद्यार्थीबाट दान गरिएको वीर्यबाट गर्भाधान गराउने कागजातमा हस्ताक्षर गरेपनि डाक्टरले आफ्नै वीर्य दिएको दावी फ्लोरिडाको जोडीले गरेको थियो । कोलोराडोकी महिलाले पनि आफूलाई अज्ञात मेडिकल विद्यार्थीबाट दान गरिएको वीर्यबाट गर्भाधान गराएको कागजातमा हस्ताक्षर गराएपनि डाक्टरले आफ्नै वीर्य प्रयोग गरेको दावी गरेकी थिइन् ।
त्यसपछि अनुसन्धान समितिले डाक्टरको आनुवंशिक परीक्षण गर्नुपर्ने उल्लेख गरेको थियो । तर डाक्टरले भने अस्वीकार गरेका थिए । पछि डाक्टरले फरक प्रकारको आनुवंशिक परीक्षणका क्रममा यसको पुष्टी भएको थियो । डाक्टरले अहिले आफ्नो गल्तीप्रति पछुतो मानेको बताएका छन् ।