एरिजोनामा ९ प्रहरी घाइते हुनेगरी गोली चलाउने बन्दुकधारी मृत फेला, प्रेमिकाको मृत्यु
प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार
अमेरिकाको एरिजोना राज्यको फिनिक्समा ९ जना प्रहरी अधिकारीलाई घाइते बनाउनेगरी गोली चलाउने व्यक्ति पनि मृत फेला परेको छ । उक्त व्यक्तिले चलाएको गोली लागेर ५ जना प्रहरी अधिकारीहरु घाइते भएका थिए भने छर्राबाट अरु ४ जना प्रहरी अधिकारी घाइते भएका थिए ।
बन्दुकधारीले आफ्नी पूर्व प्रेमिकालाई गोली हानेर मारेको छ भने घटनास्थलबाट बच्चाको उद्दार गरिएको छ । बन्दुकधारी ३६ बर्षको मोरिस जोन्स भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । एउटा घरमा अवरोधको स्थीति सामना गर्ने क्रममा प्रहरीमाथि नै गोली प्रहार भएको थियो । ४ जनालाई अहिले पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
एउटा घरमा गोली चलेको घटनापछि प्रहरी अधिकारीहरु त्यहाँ पुगेका थिए । सहायताका लागि पुगेका प्रहरी अधिकारीमाथि बन्दुकधारीले गोली चलाएको थियो । घरमा बच्चा पनि रहेको र घटनाकै बीचमा बच्चालाई क्यारिअरमा राखेर घर बाहिर निकालिएको थियो । घटना शुक्रबार विहान सबा २ बजे भएको हो ।
बच्चालाई सकुशल उद्दार गर्ने क्रममा बन्दुकधारीले लगातार गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको थियो । त्यसपछि बन्दुकधारीले आफैलाई घरभित्र बन्द गरेको थियो । बच्चाको सकुशल उद्दार गरिएको छ भने बन्दुकधारीको गोली प्रहारबाट घाइते पूर्व प्रेमिकाको शुक्रबार दिउसो उपचारका क्रममा मृत्यु भएको छ ।