न्युयोर्क र डिसीमा ५ होमलेसमाथि गोली हान्ने व्यक्ति एउटै, जानकारी दिनेलाई ७० हजार डलर इनाम


प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार

न्युयोर्क र वासिंटन डिसीमा ५ जना होमलेसमाथि गोली र चक्कु हान्ने व्यक्ति एउटै भएको आशंका गर्दै न्युयोर्क र डिसी प्रहरीले संदिग्धको खोजी गरिरहेको छ । यी दुबै घटनामा एउटै प्रकारको बन्दुक प्रयोग भएको प्रहरीको भनाई छ । उक्त व्यक्तिलाई पक्राउ गर्नका लागि जानकारी दिने व्यक्तिलाई ७० हजार डलरसम्म इनामको घोषणा प्रहरीले गरेको छ ।

शनिबार विहान म्यानहटनको शोहो नजिकै कालो कपडा लगाएको बन्दुकधारीले एकजना होमलेसलाई गोली हानेको थियो । सडकमा सुतेको अवस्थामा ३८ बर्षका होमलेसलाई गोली हानेर घाइते बनाइएको थियो । घाइतेको अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ ।

त्यसको झण्डै एकघण्टापछि लाफायट स्ट्रीट नजिकै स्लीपिङ ब्यागमा बेरिएका होमलेसमाथि गोली हानिएको भिडियो सीसीटिभी क्यामेरामा कैद भएको छ । बन्दुधकारीले पहिले स्लीपिङ ब्यागमा सुतेका होमलेसलाई लात्ति हानेको थियो । त्यसपछि यताउता हेरेर बन्दुक निकाल्दै टाउकोमा ताकेर हानेको थियो ।

गत मार्च ३ र मार्च ८ मा वासिंटन डिसीमा २ जना होमलेसमाथि गोली हानिएको थियो । त्यसपछि अर्को होमलेस गत बुधबार गोली र चक्कुप्रहारबाट मृत अवस्थामा भेटिएका थिए । वासिंटन डिसी र न्युयोर्कका यी घटनामा २ जनाको मृत्यु भएको छ भने घटना सम्बन्धित भएको जनाइएको छ ।

न्युयोर्कसिटी र वासिंटन डिसीका मेयरहरुले होमलेसहरुलाई शेल्टरमा बस्न भनेका छन् । घटनास्थल आसपासमा प्रहरीले होमलेसहरुलाई शेल्टरमा जान प्रेरित गर्दै फ्लायरहरु बाँडेका थिए । कम्युनिटी आउटरिच टिमहरुले पनि होमलेसहरुलाई शेल्टरका विकल्पहरुबारे सुझाव दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com