शर्त हटाएर विवाहमा आधारित १० बर्षे ग्रिनकार्ड दिंदा अन्तरवार्तामा छुट दिने नियम के हो ?


प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार

युएससीआईएसले अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकसँग विवाहमार्फत २ बर्षे ग्रिनकार्ड लिएकाहरुलाई शर्त हटाएर १० बर्षे ग्रिनकार्ड दिने क्रममा सबै आवेदकलाई अन्तरवार्ता अनिवार्य नगर्ने र कैयनलाई अन्तरवार्ता छुट दिने नियम ल्याएको छ । अहिलेसम्म दूतावासबाट आप्रवासी भिसा लिएर आउने शर्तसहितको २ बर्षे ग्रिनकार्ड वाहकलाई शर्त हटाएर १० बर्षे ग्रिनकार्ड प्रदान गर्ने क्रममा अन्तरवार्ता अनिवार्य गरिदै आएको थियो ।

तर अब युएससीआईएसले अन्तरवार्ता छुट दिनेछ । अन्तरवार्ता छुट दिनु अगाढि युएससीआईएसले विभिन्न ५ वटा कसीमा आवेदनलाई हेर्नेछ । पहिलो, विवाह वास्तविक भएको उचित प्रमाणहरु भएमा अन्तरवार्ता छुट दिइनेछ । दोश्रो संयुक्त फाइलिङ गर्न नपर्नेगरी छुटका लागि योग्य भएको आवेदकलाई पनि अन्तरवार्ता छुट दिइनेछ ।

तेश्रो, आवेदनमा जालसाजीको कुनै संकेत नभएको खण्डमा अन्तरवार्ता छुट दिइनेछ । चौथो, देशनिकाला हुनेगरी अपराधको पृष्ठभूमि नभएको भएमा अन्तरवार्ता छुट दिइनेछ । र पाँचौं, कुनै समाधान गर्नुपर्ने जटिल तथ्य नभएको अवस्थामा शर्त हटाउने क्रममा युएससीआईएसले अन्तरवार्ता छुट दिन सक्नेछ ।

गतसातादेखि लागु हुनेगरी अन्तरवार्ता छुटका सन्दर्भमा नयाँ मापदण्ड लागु गरिएको हो । ग्रिनकार्डको शर्त हटाउनका लागि दिएको आई ७५१ आवेदनका सन्दर्भमा अन्तरवार्ता छुट दिने विषयमा अब जोखिममा आधारित दृष्टिकोण लागु गरिने युएससीआईएसले जनाएको हो ।

नयाँ रणनीतिले आवेदनको प्रकृयामा लाग्ने समयमा सुधार हुनुका साथै युएससीआईएसको जनशक्तिको उचित र प्रभावकारी प्रयोग हुने विश्वास युएससीआईएसको रहेको छ । जालसाजीको पहिचान र राष्ट्रिय सुरक्षाको संरक्षणको प्रकृया जारी रहने भएपनि नयाँ रणनीतिले ब्याकलक पनि कम हुने अपेक्षा गरिएको छ ।

सामान्यतया अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकसँग विवाह भएको दुईबर्षभित्र पूरा नभएको अवस्थामा दम्पत्तिले ग्रिनकार्डका लागि आवेदन दिएको खण्डमा २ बर्षको शर्तसहितको ग्रिनकार्ड प्रदान गरिन्छ । उक्त ग्रिनकार्डको २ बर्ष पूरा हुनुभन्दा ९० दिनभित्र शर्त हटाएर पूर्ण ग्रिनकार्ड प्राप्त गर्नका लागि शर्त हटाउने आई ७५१ आवेदन दिनुपर्छ ।

विगतमा अन्तरवार्ता अनिवार्य गरिंदा युएससीआईएसको जनशक्तिको उचित र प्रभावकारी सदुपयोग भएको प्रमाणित नभएको युएससीआईएसले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com