स्थलमार्ग र जलमार्गबाट अमेरिका आउँदा भ्याक्सिन अनिवार्यको नियम थप
प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले स्थलमार्ग र फेरीबाट जलमार्ग हुँदै अमेरिका आउँदा भ्याक्सिन अनिवार्यको नियम थप गरेको छ । अमेरिका र मेक्सिकोको सिमाक्षेत्र तथा अमेरिका र क्यानडाको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरुका सन्दर्भमा यो नियम थप गरिएको हो ।
स्थल र जलमार्गबाट अमेरिका आउनेले पूर्णरुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएको हुनुपर्नेछ भने अधिकारीहरुले अनुरोध गरेको खण्डमा त्यसको प्रमाण समेत पेश गर्नुपर्नेछ । अमेरिकी नागरिक, ग्रिनकार्डवाहक र अमेरिकाका बासिन्दाहरुका सन्दर्भमा यो नियम लागु नहुने स्पष्ट पारिएको छ ।
अत्यावश्यक र गैर अत्यावश्यक प्रयोजनका लागि अमेरिका आउने गैर अमेरिकी यात्रुहरुका सन्दर्भमा यो नियम लागु गरिने स्पष्ट पारिएको छ । सीडीसी र अन्य सात संघीय एजेन्सीसँगको समझदारीमा नियम थप गरिएको जनाइएको छ ।
स्थलमार्ग र जलमार्गबाट अमेरिका आउने गैर अमेरिकी यात्रुले मौखिक रुपमा आफ्नो भ्याक्सिनको अवस्था उल्लेख गर्नुपर्नेछ भने मागेको खण्डमा प्रमाण समेत पेश गर्नुपर्नेछ । त्यस्तै अद्यावधिक पासपोर्ट, ट्रस्टेड ट्राभलर कार्यक्रम कार्ड लगायतका पश्चिमी गोलाद्र्ध यात्रा कार्यक्रमबाट स्वीकृत कागजात पेश गर्नुपर्नेछ ।
स्थलमार्ग र जलमार्गबाट अमेरिका आउँदा कोरोना परीक्षण भने आवश्यक छैन । अमेरिकामा हवाईमार्गबाट आउँदा भने फरक नियम रहेको छ ।