‘जनता-जनताबिचको सम्बन्ध अमेरिका-नेपाल सम्बन्धको जग’ – राजदूत बेरी
प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जनता जनताबिचको सम्बन्ध अमेरिका र नेपालबीचको सम्बन्धको जग भएको बताएका छन् । अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवशरमा बेरीले वक्तव्यमार्फत भनेका छन् – ‘जनता-जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो ।’
यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ । ७५ वर्षको यस अवधिमा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएको बेरीले बताएका छन् ।
अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्ने बेरीको भनाई छ ।
बेरीले भनेका छन् – ‘यस साताले हामीलाई अमेरिकी र नेपालीहरूबिचको सम्बन्ध एक यस्तो सम्बन्ध हो जुन पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने छ भन्ने कुराको स्मरण गराउँदछ ।’
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले साझेदारीको सशक्त परिणामलाई झल्काउने राजदूत बेरीको भनाई छ । सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको बेलामा युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गरेको तथा सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झरेको बेरीले स्मरण गरेका छन् ।
महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको पनि बेरीले स्मरण गरेका छन् ।
गत फागुनमा नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेको उल्लेख गर्दै यस कम्प्याक्ट कार्यक्रमको प्रतिफलस्वरूप नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने बेरीको भनाई छ ।
बेरीले भनेका छन्- ‘नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ । झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ । यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ ।’
‘आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ । यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।’- बेरीले वक्तव्यमार्फत भनेका छन् ।
सबै तस्वीर : अमेरिकी दूतावास काठमाडौं