प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालको प्रगति, १०६ बाट उक्लियो ७६औँ स्थानमा
प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार
नेपालले प्रेस स्वतन्त्रता सूचकाङ्कमा उल्लेखनीय प्रगति गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसअफ) ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै आज सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको देखाएको हो ।
विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कअनुसार छिमेकी मुलुक भारत १५० औँ स्थानमा झरेको छ । गतवर्ष भारत १४२ औँ स्थानमा थियो । पाकिस्तान पनि १५७ औँ स्थानमा झरेको छ । नर्वेसँगै डेनमार्क र स्वीडेन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा छन् भने चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युवा र म्यान्मा अतिकम प्रेस स्वतन्त्रता भएका देशका रुपमा दरिएका छन् । इस्टोनिया, फिनल्याण्ड, आयरल्याड, पोर्चुगल, कोष्टारिका क्रमशः चौथो, पाँचौ, छैटौँ, सातौ र आठौँ भएका छन् ।
सूचकाङ्कले समाचार र सूचना अराजकताको विनाशकारी प्रभाव र भ्रामक समाचार एवं प्रचारलाई प्रोत्साहन गर्ने अनियमित ‘अनलाइन’ सूचनाको प्रभावलाई गम्भीर विषयका रुपमा प्रस्तुत गरेको छ ।
हरेक वर्ष मे ३ अर्थात् आज विश्व प्रेस स्वतन्त्रता दिवसलाई सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मनाइने गरेको छ भने प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकताका विषयहरूमा सञ्चारकर्मीहरू पनि उत्तिकै गम्भीर र संवेदनशील हुनुपर्ने वास्तविकतालाई मार्गदर्शकका रुपमा लिइन्छ ।
प्रेस स्वतन्त्रता हननका ७५ घटना
वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन् ।
प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । १ नं प्रदेश र मधेस प्रदेशमा बराबरी अर्थात ६–६ वटा हननका घटना भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यो पटक हननका घटना भएको पाइएको छैन ।
प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ सञ्चारकर्मी, ९ सञ्चारगृह र ३३ महिला पीडित भएको पोखरेलले बताउनुभयो । “अघिल्लो वर्ष महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका ४५ घटना थिए भने ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चार संस्था पीडित बनेका थिए, ५८४ पत्रकारमध्ये ७७ पत्रकार महिला थिए”, उहाँले भन्नुभयो ।
महासङ्घको अभिलेखअनुसार यो वर्ष तीन पत्रकार गिरफ्तारीमा परेका छन् भने आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको पीडा ३१ पत्रकारले खेप्दैछन् । कानुन बनाएर प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्न खोज्ने काम तीन पटक भएको छ ।
उल्लिखित तथ्याङ्कका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको महासङ्घको भनाइ छ । पत्रकार महासङ्घले तीन तहका सरकारले निर्माण गर्ने प्रेससँग सम्बन्धित कानून प्रेसमैत्री हुनुपर्ने माग गर्दै आएको छ । भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउनुपर्ने महासङ्घको माग छ ।
नागरिकको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउन प्रेस स्वतन्त्रता अनिवार्य हुने अध्यक्ष पोखरेलको भनाइ छ । “प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अङ्ग पनि हो, नेपालको संविधानको प्रस्तावमै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन”उहाँले भन्नुभयो ।