पुनरावेदनको फैसला नआएसम्म डिभी २०२० र २०२१ का विजेतालाई भिसा नदिने स्पष्ट


प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार

पुनरावेदनको फैसला नआएसम्म डिभी २०२० र २०२१ का विजेतालाई भिसा नदिने बाइडेन प्रशासनले घोषणा गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले एक अपडेट जारी गर्दै डिभी २०२० र २०२१ का भिसा संरक्षण गर्ने अदालतको आदेशविरुद्ध पुनरावेदन अदालत गइरहेको बताएको छ ।

विदेश मन्त्रालयको नीतिलाई गैरकानूनी ठहर गर्ने अदालतको आदेशमा गलत तरिकाले कानूनको व्याख्या गरिएको आफूहरुको विश्वास रहेको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । तोकिएको डेडलाइनभन्दा पनि पछिसम्म डिभी विजेतालाई भिसा जारी गर्नुपर्ने अदालतको आदेशविरुद्ध पुनरावेदनको फैसला नआएसम्म भिसा जारी नगरिने जनाइएको हो ।

अदालतको आदेश अनुशार विगतका डिभीलाई प्रकृयामा लैजान अमेरिकी विदेश मन्त्रालयले प्रणालीमा आवश्यक परिमार्जन गर्न आवश्यक भएको र अदालतको आदेशको पालना गर्न परिमाजर्न गरिने विदेश मन्त्रालयको भनाई छ । तर अदालतले स्थगनलाई स्वीकार गरेकाले पुनरावेदनको फैसला नआएसम्म भिसा जारी गर्न आवश्यक नभएको विदेश मन्त्रालयले बताएको छ ।

सन् २०२१ को अगस्त १७ मा अदालतले डिभी २०२० का ९०९५ भिसा संरक्षणका लागि आदेश दिएको थियो । त्यसपछि अक्टोबर २३ मा जारी गरिएको आदेशमा यी भिसाहरु सन् २०२२ को सेप्टेम्बर ३० अगाडि जारी गर्न आदेश दिइएको थियो । तर अप्रिल ५ मा पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी सुरु गर्न नपर्नेगरी अदालतले आदेश दिएको थियो ।

सेप्टेम्बर २७ मा अदालतले कार्यकारी आदेशका कारण भिसा जारी हुन नसकेका २७ दुतावास र पोष्टका लागि डिभी २०२१ का ९६६ भिसा संरक्षणका लागि आदेश दिएको थियो । अक्टोबर २० मा यी भिसाहरु सकभर छिटो जारी गर्न आदेश दिइएपनि अप्रिल ६ को आदेशमा पुनरावेदनको फैसला नआउँदासम्म भिसा जारी गर्न प्रतिक्षा गर्नसकिने व्यवस्था गरिएको थियो ।

त्यस्तै सेप्टेम्बर ३० को आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । तर अप्रिल १८ मा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो । त्यस्तै सेप्टेम्बर ३० कै आदेशमा ४८१ भिसा संरक्षणको आदेश दिएपनि अप्रिल ६ को आदेशमा अदालतले पुनरावेदनको निर्णय नआउँदासम्म भिसा जारी गर्नु नपर्ने निर्णय गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com