अमेरिकामा घटे ओभरस्टे हुने नेपाली विद्यार्थी, ५ बर्षमा ४८५१ नेपाली विद्यार्थी ओभरस्टे
प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार
पछिल्लो तथ्यांक अनुशार अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या घटेको छ । आर्थिक बर्ष २०२० को तथ्यांक हेर्दा अमेरिकामा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १० दशमलव शुन्य ८ प्रतिशत रहको छ । आर्थिक बर्ष २०२० मा अमेरिकाबाट ४९४२ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ४९८ जना ओभरस्टे भए । ५३ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे भने ४४५ जना अमेरिकाभित्रै ओभरस्टे भए । २०२० मा अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ९ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक बर्षको तुलनामा २०२० मा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या प्रतिशत र संख्या दुबैमा कम रहेको छ । त्यस्तै अमेरिकाभित्रै ओरभस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या र प्रतिशतपनि अघिल्लो बर्षको तुलनामा घटेको छ । आर्थिक बर्ष २०१९ मा भने ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १३ दशमलव ४३ प्रतिशत रहेको थियो । कतिपय ओभरस्टे भएपछि फर्केका थिए भने अमेरिकामा नै ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।
२०१९ मा एफ, एम र जे भिसामा रहेका ५ हजार १ सय ८८ जना नेपाली विद्यार्थीहरुले अमेरिका छाड्नुपर्ने भएतापनि यी भिसामा हुने ६९७ जना नेपालीहरु ओभरस्टे भएका थिए । १०४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए भने ५९३ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकामा नै बसेका थिए ।
तर आर्थिक बर्ष सन् २०१८ को नेपाली विद्यार्थीहरुको तथ्यांक भने खराब रहेको थियो । आर्थिक बर्ष २०१८ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ३८ दशमलव ४ प्रतिशत रहेको थियो ।
कुल ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ३८ दशमलव ४ प्रतिशत रहेपनि अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु आर्थिक बर्ष २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेका थिए । आर्थिक बर्ष २०१८ मा ५ हजार ६ सय २३ नेपाली नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा २१ सय ३९ जना अमेरिकामा नै ओभरस्टे भएका थिए । ९९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेपनि २ हजार ४० जना भने अमेरिकाभित्रै ओभरस्टे भएका थिए ।
आर्थिक बर्ष २०१७ मा जम्मा २२ दशमलव २२ प्रतिशत नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका थिए । ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७ सय ९० जना नेपाली विद्यार्थीमात्र ओभरस्टे भएका थिए । जसमध्ये अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ७ सय १२ जना र ७८ जना ओभरस्टे भइसकेपछि अमेरिका छाड्नेहरु थिए ।
आर्थिक बर्ष २०१६ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरु जम्मा २५ दशमलव ३१ प्रतिशतमात्र रहेका थिए । यो बर्ष २८ सय ७३ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७२७ जना अमेरिकामा ओभरस्टे भएका थिए ।
यसरी हेर्दा ५ बर्षको अवधिमा ४८५१ जना नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएको देखिएको छ । ओभरस्टे हुनेहरुको तुलनामा ओभरस्टे भइसकेपछि अमेरिका छाड्ने नेपाली विद्यार्थीहरुको संख्या निकै कम रहको छ । ओभरस्टे हुनेहरुबाहेक अन्य विद्यार्थीहरु या त समयमै नेपाल फर्केका थिए, या त अमेरिकामा भिसा थप्ने वा स्टाटस एड्जस्ट गरेका थिए ।