न्युयोर्कमा नेवा: विधिपूर्वक सामुहिक इहि
प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार
न्युयोर्कमा नेवारी संस्कृति अनुशार सामुहिक ‘इहि’ गराइएको छ ।
नेवा: नख: न्यूयोर्कको आयोजनामा नेवा: गुभाजु समन्त बज्राचार्यले नेवा: विधिपूर्वक इहि सम्पन्न गराएका हुन् । उनलाई पुष्पा बज्राचार्य र नेवा: नख: का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले जजमान भै सहयोग गरे ।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक इहिमा न्युयोर्क, कनेटिकट, म्यासाचुसेट्स् र न्युजर्सी बाट १२ जना बालिकाहरू सोफी सिंह, नेश्मा मास्के, इभलिन राजकर्णिकार, साम्राज्ञी सिंह, मलीहा श्रेष्ठ, आर्या श्रेष्ठ, तीसा श्रेष्ठ, सह्राना स्थापित, तिशा शाक्य, उर्वीना श्रेष्ठ, रोमा प्रधान र आब्या श्रेष्ठ सहभागी थिए ।
नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सन् २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: नख: न्युयोर्कले सातौंपटक सामुहिक इहि गराएको हो ।
नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी ‘इहि’ गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो । इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ ।
नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । बेललाई भविष्यको वरको प्रतीकका रूपमा साक्षी मानेर विवाह गरिएको हुँदा बेलविवाह भनियो। तर, इहिको अर्थ बेलविवाह होइन भन्ने कतिपयको भनाइ छ। इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।
सती प्रथा उन्मुलन गर्नका लागि इहिको परम्परा आरम्भ भएको समेत मानिन्छ । तथापि लिच्छविकालदेखि इहि संस्कारको सुरुवात भएको अनुमान पनि गरिएको छ।
नेवार समुदायमा इहि संस्कारले नेवार कन्या कहिल्यै विधवा नमानिने र विधवाको अवस्थामा पनि अर्को विवाह गर्न सकिने बज्रमुनि बज्राचार्यको पुस्तक ‘नेवाः संस्कार परिचय’मा उल्लेख छ। नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेवार–नेपाली–अङ्ग्रेजी शब्दकोश’मा इहिलाई विधवा भएर बस्नु नपरोस् भनेर गरिने विवाह भनेर अथ्र्याइएको छ।
नेवारभित्र पनि जाति र ठाउँअनुसार इहिको विधि र प्रक्रियामा भिन्नता छ। काठमाडौं उपत्यकामै नेवारभित्रका विभिन्न जाति र ठाउँ–टोल अनुसार इहिको विधि र प्रक्रिया फरक पाइन्छ।