मिस नेपाल नर्थ अमेरिका अगस्त ६ मा न्युयोर्कमा, आवेदन दिने डेडलाइन जुलाई ८
प्रकाशित मिति : असार २२, २०७९ बुधबार
मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ६ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको क्वीन्समा हुने मेलरोज बलरुममा कार्यक्रमको आयोजना गरिने आयोजक सैलेश श्रेष्ठले जानकारी दिए ।
मिस नेपाल नर्थ अमेरिकामा सहभागी हुन आवेदन दिने म्याद जुलाई ८ शुक्रबारसम्म रहेको छ । ड्रिम्स युनिभर्सलले आयोजना गर्ने यो प्रतियोगितामा यो बर्षदेखि ट्रान्सवुमनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।
अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८ देखि मिस नेपाल नर्थ अमेरिका आयोजना गरिदै आएको छ । १८ देखि २८ बर्षभित्रका अविवाहित अमेरिका निवासीहरुले प्रतियोगितामा भाग लिनसक्नेछन् । प्रतियोगितामा भाग लिन कम्तिमा ५ फुट १ इन्च इन्च उचाई, हाइस्कुलको शिक्षा, उत्तर अमेरिका निवासी हुनुपर्ने लगायतका योग्यताहरु पूरा गरेको हुनुपर्छ ।
यसपटकको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, कलाकार स्वस्तिमा खड्का, मोडल निती शाह, बैङ्कर अनिल केशरी शाह लगायतका सेलिब्रेटीहरुको उपस्थिति रहने जनाइएको छ ।
मिस नेपाल नर्थ अमेरिका २०१८ मोनिका घले हुन् भने सन् २०१९ मा श्रीया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको ताज जितिन् । सन् २०२० मा कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेन भने २०२१ मा गरिमा ज्ञवाली मिस नेपाल नर्थ अमेरिका भइन् ।
प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।