२०२३ का डिभी विजेता नेपालीको संख्या सार्वजनिक, एसियामै दोश्रो, अक्टोबरदेखि भिसा


प्रकाशित मिति : असार २५, २०७९ शनिबार

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या सार्वजनिक गरिएको छ । २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।

अफ्रिकामा अल्जेरियाका ५५२६, कंगोका ४३८५, इजिप्टका ५५२९, मोरक्कोका ४४६९ र सुडानका ४८६३ जनाले डिभी लोटरी पारेका छन् । युरोपमा रसियाका ५५०४ र उज्वेकिस्तानका ५५११ जनाले डिभी लोटरी पारेका छन् । यसरी विश्वमा डिभी लोटरी पार्नेमा नेपालीहरु नवौं नम्बरमा छन् । युक्रेनका पनि ३८०८ जनाले नै डिभी लोटरी पारेका छन् ।

आर्थिक बर्ष २०२३ का लागि डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

गतबर्ष ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । उनीहरुले गतमार्चदेखि भिसा पाउन सुरु गरेका छन् भने आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गर्नेछन् ।

यो बर्ष कतिले पाए भिसा ?

चालु आर्थिक बर्षका विजेताहरुले मेसम्म काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट ९९४ जना डिभी विजेता नेपालीहरुले भिसा पाएका छन् । अप्रिलमा ६४६ जनालाई डाइभर्सिटी भिसा दिएको अमेरिकी दूतावास काठमाडौंले मेमा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो ।

मे महिनामा विश्वभरबाट जम्मा ५९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको थियो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।

मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । यद्यपी मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । मार्चमा अन्य देशबाट भिसा पाउने र अमेरिकामा नै स्थीति समायोजन गर्नेहरुको समेत संख्या जोड्दा कुल भिसा प्राप्त गर्ने डिभी विजेता नेपालीहरुको संख्या भने ३ सय ४ रहेको थियो । अप्रिलमा यो संख्या ६ सय ६२ रहेको थियो ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन संख्या झण्डै ३८ सय हो ।

अमेरिकाको डिभी लोटरी भर्न अबदेखि पासपोर्ट नचाहिने

अमेरिकाको डिभी लोटरी भर्न अबदेखि पासपोर्ट नचाहिने भएको छ ।

सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर गत फरबरी ४ मा अदालतले ट्रम्पकालिन नियम खारेज गरिदिएको थियो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका थिए । केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए ।

सोही फैसलाको कार्यान्वयन गर्दै अमेरिकी सरकारको विदेश मन्त्रालयले पासपोर्ट नचाहिने अन्तिम नियम ल्याएको हो । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुम अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि ट्रम्प प्रशसनले पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया अपनाएको थिए । त्यसैले अदालतले यसलाई गैरकानूनी रुपमा ल्याइएको ठहरगरेको थियो ।

तीनवटा डिभीमा पासपोर्ट अनिवार्य

सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने प्रावधान ल्याइएको थियो ।

पासपोर्ट अनिवार्य गर्दा पनि सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी २०२१ कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २०१९ देखि अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा पासपोर्ट बनाउनेको भींड उक्त समयमा ६ गुणाभन्दा धेरै बढेको थियो । दैनिक बढीमा ५ सयले पासपोर्टका लागि आवेदन दिने गरेकोमा सन् २०१९ को डिभी खोलेपछि आवेदनको संख्या झन्डै ३ हजार पुगेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com