दक्षता नभएकाबाहेक अरुको रोजगारमा आधारित ग्रिनकार्ड अगस्तमा करेन्ट, दक्षता नहुनेलाई ४० महिना
प्रकाशित मिति : असार २५, २०७९ शनिबार
अन्य कामदार अन्तरगत रोजगारमा आधारित तेश्रो श्रेणीमा प्रदान गरिने खास दक्षता नभएका कामदारको बाहेक रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड अगस्तमा पनि करेन्ट रहेका छन् । अगस्तको भिसा बुलेटिन अनुशार अगस्तमामा अमेरिकामा हुने रोजगारमा आधारित तेश्रो श्रेणीका अन्य कामदार बाहेक सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५ अर्थात् ग्रिनकार्ड आवेदन पेश गर्न सक्नेछन् । भिसा करेन्ट भएकाले कुनै समय प्रतिक्षा गर्नुपर्नेछैन ।
आई ४८५ फाइल गरेपछि उक्त आवेदन पेन्डिङ रहेको अवधिसम्म उनीहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् । यद्यपी तेश्रो श्रेणीमा पर्ने अन्य कामदारको ग्रिनकार्ड पाउने अवधि भने करेन्ट छैन । ८ मे २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मात्र अगस्तमा ग्रिनकार्ड आवेदन पेश गर्न सक्नेछन् । तेश्रो श्रेणीमा दक्ष कामदार, पेशाकर्मीहरुको लागि ग्रिनकार्डका लागि प्रतिक्षा गर्नु नपरेपनि खास दक्षता नभएका अन्य कामदारको ग्रिनकार्डका लागि भने लामो समय लाग्ने भएको छ ।
२ बर्षभन्दा कम अवधि खास दक्षता नचाहिने काम गरेको अनुभव, उक्त कामका लागि अमेरिकामा कामदार नभएको अवस्था र लेबर सर्टिफिकेशनका अन्य प्रावधानहरु पूरा गरेका व्यक्ति रोजगारमा आधारित तेश्रो श्रेणीको अन्य कामदारमा योग्य हुनसक्छन् । यो श्रेणीमा अमेरिकामा नेपालीहरुको संख्या ठूलो रहेको छ । तर उनीहरुका लागि भिसा करेन्ट नहुँदा भिसा करेन्ट हुँदासम्मका लागि स्टाटस जोगाउन निकै समस्या हुनेगरेको छ ।
ग्रिनकार्ड करेन्ट भएकाहरुले ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।
विगतमा केही समय देखि नेपालीहरु लगायतका लागि रोजगारमा आधारित भिसाहरु करेन्ट रहदै आएका छन् । चीन, एल साल्भाडोर, होण्डुरस, ग्वाटेमाला र भारतका लागि भने रोजगारमा आधारित सबै श्रेणीका भिसाहरु जुनमा करेन्ट छैनन् ।
नेपालीहरुका लागि भिसा करेन्ट नभएको अवस्थामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४० दिइसकेपछि एकसाथ ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्ने अवस्था थिएन । आई ४८५ फाइल गर्नका लागि भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्ने अवस्था थियो ।
जसका कारण भिसा करेन्ट हुन्जेल आई १४० आवेदन दिनेहरुले आफ्नो स्टाटस जोगाइराख्नुपर्ने बाध्यता र झन्झट समेत थियो । उक्त झन्झटका कारण अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आउनेहरुले अमेरिकामा आई १४० आवेदन दिएर नेपाल फर्केर ग्रिनकार्ड कुर्ने अवस्था समेत आएको थियो ।
आई १४० का साथमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गरेको भएतापनि यदि आई १४० आवेदन अस्वीकृत भएमा भने युएससीआईएसले आई ४८५ आवेदन स्वत अस्वीकृत गर्दै आएको छ ।