आज अमेरिकी दूतावास काठमाडौंले सयौं विद्यार्थी भिसा अन्तरवार्ता लिने, ७ कागजातसहित आउन सुझाव


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

अमेरिकी दूतावास काठमाडौंले आज जुलाई १७ आइतबार विद्यार्थी भिसाका सयौं भिसा अन्तरवार्ताहरु लिने भएको छ । जुन महिनाको अन्तिम सातादेखि आजका लागि अप्वाइन्टमेन्टहरु खुला गरिएको थियो ।

सुपर सन्डे कार्यक्रम अन्तरगत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिएकोमा अमेरिकी दूतावास काठमाडौंले विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । पासपोर्ट, अप्वाइन्टमेन्ट कन्फर्मेशन, आवेदकले हस्ताक्षर गरेको आई २० फर्म वा डीएस २०१९, सेभिज शुल्क तिरेको रिसिप्ट, पछिल्ला शैक्षिक प्रमाणपत्रहरु, दुईप्रति ६ महिनाभित्रको पासपोर्ट २ २ तस्वीर र डीएस १६० कन्फर्मेशन पेजसहित भिसा अन्तरवार्तामा आउन सुझाव दिइएको छ ।

सामान्यतया आइतबार दूतावास बन्द हुने भएतापनि विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको हो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार अहिले अमेरिकी दूतावासमा भिजिटर भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन औषतमा २७४ दिन कुर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट लिन ८० दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट लिन १७ दिन कुर्नुपर्ने बाध्यता रहेको छ ।

अमेरिकी दूतावास दिल्लीमा भने भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन अझ मुस्किल रहेको छ । दिल्लीमा भिजिटर भिसाको अप्वाइन्ट पाउन औषतमा ४६० दिन लाग्ने गरेको छ । तर विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन भने औषतमा ५५ दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २४४ दिन लाग्ने गरेको छ । मुम्बईमा भिजिटर भिसाका लागि २१० दिन र विद्यार्थी लगायतका अन्य गैर आप्रवासी भिसाका लागि ३१ दिन लाग्ने गरेको छ ।

दोहाबाट भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन १९६ दिन लागेपनि विद्यार्थी लगायतका अन्य भिसाको अन्तरवार्ता ३ दिनमा पाउन सकिन्छ । त्यस्तै सिंगापुरबाट भिजिटर भिसाको अन्तरवार्ता पाउन ७३ दिन र विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन २ दिन लाग्ने गरेको छ । अन्य आप्रवासी भिसाको अप्वाइन्टमेन्टका लागि औषतमा १६ दिन कुर्नुपर्छ ।

यदि तपाई लण्डनमा अमेरिकी भिसाको लागि आवेदन दिदै हुनुहुन्छ भने भिजिटर भिसाका लागि २०३ दिन, विद्यार्थी भिसाका लागि ५९ दिन, अन्य गैर आप्रवासी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन १ सय दिन लाग्नसक्छ । त्यस्तै सिड्नीबाट भिजिटर भिसाका लागि ३९० दिन लाग्ने गरेको छ तर पर्थबाट भने ९९ दिनमा हुने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com