रोजगारमा आधारित १ लाख ७६ हजार ग्रिनकार्ड जारी, १ लाख बाँकी, खेर जाने सम्भावना


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

अमेरिकी सरकारको युएससीआईएस र विदेश मन्त्रालयले जुनसम्म रोजगारमा आधारित १ लाख ७६ हजार ग्रिनकार्ड र आप्रवासी भिसा जारी गरेको छ । चालु आर्थिक बर्षका लागि झण्डै २ लाख ९० हजारमध्ये अब १ लाख भन्दा धेरै ग्रिनकार्ड प्रयोग गर्न बाँकी रहेको जनाइएको छ ।

आगामी सेप्टेम्बरभित्र यो कोटा प्रयोग गरिसक्नुपर्ने प्रावधान रहेकाले उक्त मितिभित्र रोजगारमा आधारित ग्रिनकार्डको कोटा भने सबै प्रयोग हुनेमा आशंका रहेको छ । तोकिएको कोटा अनुशार ग्रिनकार्ड जारी नहुँदा चालु आर्थिक बर्षको लागि तोकिएको ग्रिनकार्ड संख्या खेर जाने सम्भावना रहेको छ ।

चालु आर्थिक बर्षका लागि तोकिएको ग्रिनकार्ड कोटा खेर जान नदिन युएससीआईएसले योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव दिएको छ । खासगरी आई १४० आवेदन स्वीकृत भइसकेकाहरुलाई मेडिकल रिपोर्टका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सुझाव दिइएको छ ।

चालु आर्थिक बर्षको ग्रिनकार्डको कोटा आगामी सेप्टेम्बरभित्र प्रयोग गरिसक्नुपर्ने भएकाले योग्यहरुलाई यथाशीघ्र ग्रिनकार्ड आवेदन दिन सुझाव दिइएको छ । साथै युएससीआईएसले मागेको खण्डमा रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई तुरुन्तै मेडिकल रिपोर्ट पठाउन समेत सुझाव दिएको छ ।

तर नमागेसम्म भने मेडिकल रिपोर्ट नपठाउन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई युएससीआईएसले सुझाव दिएको छ । ग्रिनकार्ड आवेदन आई ४८५ पेन्डिङ अवस्थामा भएकाहरुले नमागेसम्म मेडिकल रिपोर्ट आई ६९३ नपठाउन सुझाव दिइएको हो ।

चालु आर्थिक बर्षका रोजगारमा आधारित भिसाहरु आगामी सेप्टेम्बर ३० भित्र प्रयोग गरिसक्नुपर्ने भएकाले उक्त डेडलाइनभित्र अधिकतम भिसा प्रयोग गर्न आफूहरु प्रतिवद्ध रहेको युएससीआईएसले जनाएको छ । आफूहरुले मेडिकल रिपोर्ट नभएका ग्रिनकार्ड आवेदनहरु सकृय रुपमा पत्ता लगाएर आवेदकलाई सम्पर्क गरिरहेकाले अनुरोधपछिमात्र मेडिकल रिपोर्ट पठाउन भनिएको छ ।

यदि कोही आवेदकलाई विगतमा फाइल गरिएको ग्रिनकार्ड आवेदन आई ४८५ सँग अद्यावधिक मेडिकल रिपोर्ट नभएको कुराको ज्ञान छ भने र आई १४० आवेदन स्वीकृत भएर भिसा उपलब्ध भइसकेको छ भने मेडिकल रिपोर्ट तयारी अवस्थामा राख्न सुझाव दिइएको छ । युएससीआईएसबाट अनुरोध आउने बित्तिकै उक्त रिपोर्ट पठाउन युएससीआईएसको सुझाव रहेको छ ।

भविश्यमा ग्रिनकार्ड आवेदन दिने योजना बनाएकाहरुलाई उक्त आवेदनका साथमा अद्यावधिक रहेको मेडिकल रिपोर्ट समेत पठाउन सुझाव दिइएको छ । मेडिकल रिपोर्टको म्याद सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षसम्ममात्र अद्यावधिक हुन्छ । उक्त अवधिभित्र पनि आवेदन पेन्डिङ अवस्थामा रहेको खण्डमा नयाँ रिपोर्ट पठाउनुपर्ने हुनसक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com